२०८२ चैत २९ आइतवार , ०३:४६:०४ बजे

Sajhamanch
'

सन्थाल गोल्डकप : हल्दिवारी एफसी च्याम्पियन

आइतवार, चैत २९, २०८२

बिर्तामोड । हल्दिवारी एफसी प्रथम सन्थाल गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनल खेलमा आयोजक सन्थाल जाति उत्थान सेवा समाजलाई पराजित गर्दै हल्दिवारीले उपाधि चुमेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो । खेलको ५५ औं मिनेटमा हल्दिवारी एफसीको तर्फबाट शिखर मर्डीले गोल गर्दै खेललाई १–० को स्थितिमा पुराएका थिए । १ गोलको योगदान गरेका शिखर मर्डी नै म्यान अफ दि म्याच घोषित भए ।

निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयको सदुपयोग गर्दै आयोजकका तर्फबाट श्याम मुर्मूले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।
ट्राइबे्रकरमा दुवै टिमबाट १–१ गोल रोकिएपछि ४–४ को बराबरी भएको थियो । सडनडेथमा हल्दिवारी एफसीका तर्फबाट १ गोल रक्षा भएपछि हल्दिवारीले गरेको १ गोल नै निर्णायक बनेको थियो ।

उपाधि विजेता हल्दिवारीले नगद १ लाख रुपैयाँ, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्दा आयोजकले भने उपविजेता बन्दै नगद ६० हजारमा चित्त बुझाएको छ ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजकका तर्फबाट श्याम मुर्मू घोषित भए, त्यस्तै उत्कृष्ट गोल किपर हल्दिवारी एफसीका दिनेश बेस्रा घोषित भए । त्यसैगरी, खेलअवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका आयोजक टिमका मिसन हस्दा उत्कृष्ट खेलाडी घोषित भए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद एवम् पूर्वमन्त्री एकराज कार्की, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । गत चैत २१ गतेबाट सुरु भएको यस प्रतियोगिताको शनिवार समापन गरिएको आयोजक समितिका संयोजक टिका हस्दाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर