
झापा । “खेल स्वास्थ्यको आधार, खेलकुद हाम्रो पहिचान” भन्ने मूल नाराका साथ तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
उद्घाटन खेलमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले नेक्ष्ट जेनेरेशन फुटबल क्लब मोरङलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । आयोजकका तर्फबाट साहिल धिमालले खेलको १५ औँ मिनेटमा पहिलो गोल गरेका थिए ।
रमेश क्षेत्रीको पासलाई सदुपयोग गर्दै साहिलले गरेको पहिलो प्रहार गोलरक्षक सन्दिप लिङ्देनले बचाउँदा रिबाउन्ड भएको बललाई साहिलले सहजै गोल गरे । दोस्रो हाफको २२ औँ मिनेट र इन्जुरी समयमा रमेश क्षेत्रीले दुई गोल थप्दै टिमको जित सुनिश्चित गरे । उत्कृष्ट प्रदर्शन गरेका रमेश क्षेत्री म्यान अफ द म्याच घोषित हुँदै नगद रु. १ हजार ५०० सहित ट्रफी प्राप्त गर्न सफल भए ।
भोलि हुने दोस्रो क्वाटरफाइनल खेलमा पूर्वेली युवा क्लब बिर्तामोड र धुलाबारी फुटबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । विजेताले नगद रु. १ लाख १ हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ हजार नगद र ट्रफी पाउनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. १ हजार ५ सयसहित ट्रफी प्रदान गरिनेछ भने बेस्ट डिफेन्डर, इमर्जिङ प्लेयर, सर्वाधिक गोलकर्ता र बेस्ट गोलरक्षकलाई जनही रु. ३ हजार १०० प्रदान गरिनेछ ।
मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबसहित ब्रदर्स एफसी दमक, पूर्णिमा युवा क्लब भद्रपुर, पूर्वेली युवा क्लब बिर्तामोड, शनिश्चरे युवा क्लब, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डीएफसी बाहुनडाँगी, नेक्ष्ट जेनेरेशन फुटबल क्लब र आदर्श युवा क्लब बुधबारे गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल बैशाख ५ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
नकलबन्दा स्पोर्टिङ क्लबका अध्यक्ष भक्त गुरुङ्गको अध्यक्षतामा तथा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्की, वडा नं. ६ का कार्यवाहक अध्यक्ष भविन्द्र सुब्बा, कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्यहरु पुष्पकुमार गेलाल र देवीमाया विक, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत (सुन्दर) लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी नकलबन्दा बचत तथा ऋण सहकारीका अध्यक्ष केशरप्रसाद तिम्सिना, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, बिन्ती बचत तथा ऋण सहकारीका सदस्य दशरथ खडिया, तुर्केनी युवा क्लबका अध्यक्ष राजेश श्रेष्ठ, प्रहरी चौकी नकलबन्दाका प्रमुख अशोक चौहान, विओपी नकलबन्दाका प्रमुख सूर्य श्रेष्ठ तथा सल्लाहकार सदस्यहरू पर्शुराम पराजुली, मेघराज गेलाल र होमराज गुरुङ्गलगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष हिरा सुर्खेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुरज तामाङले गरेका थिए ।


