२०८२ चैत २५ बुधवार , ११:११:५३ बजे

Sajhamanch
'

केर्खामा आयोजित महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविरमा ८६ जनाले लिए सेवा

बुधवार, चैत २५, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा महिला लक्षित निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल ३ को प्राविधिक समन्वयमा आज शिविर सम्पन्न भएको हो ।

ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै प्रजनन रुग्णता स्वास्थ्य सेवा अन्तर्गत प्रजनन् स्वास्थ्य, पाठेघर सम्बन्धी समस्या, पाठेघरको मुखको क्यान्सर परीक्षण (ख्क्ष्ब् परीक्षण), स्तन परीक्षण, परिवार नियोजन सेवा लगायत महिला रोग सम्बन्धी विभिन्न सेवाहरू उपलब्ध गराइएको थियो ।

पछिल्लो समय महिलाहरुमा विशेषगरी पाठेघरको मुखको क्यान्सरको समस्याले विकराल रुप लिन थालेपछि यसको न्यूनीकरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

शिविरमा उपस्थित सेवाग्रहीलाई डा. रेश्मा दाहाल, सीएएनएम सबिता गुरुङ, प्रतिक्षा शाह, बिन्द्रा राई, सीता फुयाल र झुमा ढुंगाना आदि स्वास्थ्यकर्मीहरूको टोलीले परीक्षणका साथै आवश्यक परामर्श सेवा प्रदान गर्नु भएको थियो ।

स्वस्थ्य शिविरमा ८६ जना महिलाहरूको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख दिपकप्रसाद दाहालले जानकारी दिनुभयो । यस्ता शिविरबाट लुकेर बसेका स्वास्थ्य समस्याहरूको पहिचान गर्न तथा समयमै उपचार प्रक्रिया अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाई छ ।

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहिरहेको अवस्थामा यस्ता लक्षित कार्यक्रमहरूले समुदायस्तरमै स्वास्थ्य सेवा सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको शाखा प्रमुख दाहालले बताउनु भयो ।

चैत २६ गते बिहीबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–१ बाँसबारीमा पनि निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित खबर