
काठमाडौं । चल्दै आएको अभ्यासलाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाहले आज (चैत २५) एकसाथ २० देशका राजदूतसँग भेटवार्ता गर्दै छन् ।ती राजदूतहरूले प्रधानमन्त्री शाहसँग सामूहिक शिष्टाचार भेटवार्ता गर्न लागेका हुन् । भेटवार्ता बुधबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ ।
यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो । ूप्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ,ू प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दिपा दाहालले सामाजिक सञ्जालमा लेखेकी छन् ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, अमेरिकी, भारतीय, चिनियाँ बेलायती, जापानी, युरोपेली युनियन लगायतका राजदूतहरूले आज सामूहिक रूपमा प्रधानमन्त्री भेट्ने छन् ।
भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
यो एउटा कूटनीतिक ब्रिफिङ जस्तै हुनेछ, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । सामूहिक भेटवार्तामा प्रधानमन्त्री शाहले देशको पछिल्लो अवस्थाबारे जानकारी गराउनेछन् ।


