२०८२ फागुन ६ बुधवार , ०९:५९:०३ बजे

Sajhamanch
'

झापा ५ अन्तरगतको कमलमा एमाले युवाको मार्चपास

बुधवार, फागुन ६, २०८२

कमल । आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरी नेकपा एमालेले बुधबार झापाको कमल गाउँपालिकामा युवाहरुको मार्च पास प्रदर्शन गरेको छ ।

क्षेत्र नं. ५ अन्तर्गत पर्ने कमलका दुई अलग स्थानबाट एमालेको मार्चपास शुरु भएको थियो । साविक लखनपुर खण्डका ५, ६ र ७ वडाका युवाहरुले लखनपुर चोकदेखि पाडाजुङ्गीसम्म एमालेको पक्षमा प्रदर्शन गरेका थिए ।

यस्तै साविक तोपगाछी खण्डका १, २, ३ र ४ वडाका युवाहरुले केराधाप चोकदेखि केर्खा बजारसम्म मार्च पास गरेको एमाले गाउँ कमिटी अध्यक्ष हरि ढकालले जानकारी दिनुभयो ।

नाचगान, झण्डा र नारासहितको र्याली समापनका क्रममा दुवै स्थानमा अलग अलग नेताहरुले संवोधन गरी आसन्न निर्वाचनबाट एमालेको बहुमत आउने दावी गरेका थिए ।

मार्चपास पछि पाडाजुङ्गीमा आयोजित कोणसभामा एमाले केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालले क्षेत्र नं. ५ को मात्र नभई समग्र देशलाई नै विकासको नेतृत्व दिने पार्टी नेकपा एमालेमात्र भएको जिकिर गर्नुभयो ।

उहाँले आगामी निर्वाचनले राष्ट्रवादी कित्ता र राष्ट्रविरोधी कित्ताको टुंगो लगाउने भन्दै राष्ट्रवादी कित्ताको नेतृत्व एमालेले गरिरहेको धारणा राख्नुभयो ।

यस्तै केर्खा बजारमा आयोजित अर्को कोणसभामा एमाले जिल्ला उपाध्यक्ष शिव ढुङ्गेलले एमालेले मात्र यो देश र जनताको विकास गर्न सक्ने बताउनुभयो ।

युवाहरुलाई भ्रममा पारेर केही तत्वले देश र जनताका बीचमा दुष्प्रचार गरिरहेको भन्दै उहाँले दुष्प्रचार र कुप्रचारका विरुद्ध जनता जागिसकेको तर्क गर्नुभयो ।

सो क्षेत्रमा एमालेले प्रत्येक वडा र टोलस्तरसम्म निर्वाचन परिचालन, प्रचारप्रसार लगायतका समितिहरु बनाई मतदातासँगको भेटघाट सघन बनाएको छ ।

यस्तै महिला, युवा, विद्यार्थी, किसान, मजदुर, बुद्धिजिवी लगायतका अलग अलग क्लष्टर समेत निर्वाचन परिचालनमा खटिएको पार्टीका केन्द्रीय सदस्य एवम् निर्वाचन प्रचारप्रसार उपसमितिका संयाजक ईन्द्र भण्डारीले जानकारी दिनु भयो ।