
झापा । नेपाली कांग्रेसबाट झापा क्षेत्र नं. २ प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईले मुलुकको समृद्धि, सुसासन र भ्रष्टाचारमुक्त नेपाल बनाउन नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन मतदातासमक्ष अपिल गर्नुभएको छ ।
नेपाल लोकतन्त्रबादी आदिवासी/जनजाति महासंघ बिर्तामोड नगर समितिद्वारा बिर्तामोड–३, बुद्धनगरमा आयोजित उम्मेद्वारसँग साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाईले यस्तो अपिल गर्नुभएको हो ।
कार्यक्रममा आदिबासी/जनजाति महासंघप्रति कांग्रेसको ठूलो भरोसा रहेको बताउँदै उहाँले आदिवासी/जनजातिहरुले आफ्नो देशको रक्षा गर्नुका साथै शान्ति सेनाको रुपमा विभिन्न देशमा गएर विदेशीहरुको पनि देश जोगाइ दिएको र देश बिदेशमा नेपालको परिचय गराएको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले जल,जमिन र जङ्गल संग आदिवासी नाता युगौंदेखि रहेको बताउँदै उनीहरु नै यो भूमिको वास्तविक अधिकारी भएको बताउनुभयो ।
नेपालमा आदिवासी जनजातिहरुको अधिकारको संरक्षण नेपाली कांग्रेसले गरेको बताउँदै उहाँले आदिवासी जनजातिसँग नेपाली कांग्रेसको गहिरो सम्बन्ध र अपनत्व रहेको धारणा राख्नुभयो ।
नेपाली कांग्रेस नीति र नेतृत्व परिवर्तन गरेर जनतामाझ आएको धारणा राख्दै उहाँले नवीन ऊर्जा लिएर आएको काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन सबैलााई आह्वान गर्नुभयो ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिका सभापति आनन्द गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य जलकुमार गुरुङ, झापा सचिव कृष्ण हुमागाई, जिल्ला सदस्यहरु प्रकाश शिवाकोटी, दीपक तामाङ, धर्म लक्सम्बा, उर्मिला ढकाल पोखरेल, यज्ञप्रताप अधिकारी, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, समानुपातिक उम्मेद्वार मनुमाया विश्वकर्मा, राधा सुब्बा, सिता पौडेल, भुमादेवी घिमिरे, लक्ष्मीप्रसाद आचार्य, भोजराज सिटौला, सूर्य कन्दङवा, दुर्योधन गुरुङ, सजेश शिवाकोटी, निर्मला गुरुङ, लक्ष्मी मादेन, राम राजवंशी लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
लवकुमार चौधरीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन दिनेश श्रेष्ठले गर्नुभएको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।
यसैबीच नेपाल ट्रेड युनियन कांग्रेस झापाले पनि उम्मेद्वारसँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ट्रेड युनियन कांग्रेसमा आबद्ध २० भन्दा बढी संस्थाका अध्यक्ष तथा पदाधिकारी, चिया वगान श्रमीक संघसँग आबद्ध पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै झापा क्षेत्र नं–२ मा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईंले श्रमीकहरुको अधिकार रक्षा, सामाजिक सुरक्षा, वेतन बृत्ति सुधारका लागि नेपाली कांग्रेसले थुप्रै काम गरेको बताउँदै श्रमीकहरुको जीवनस्तर सुधार कांग्रेसको मूल लक्ष्य रहेको बताउनुभयो । श्रमीकहरुको जीवनस्तर सुधारपछि मात्रै मुलुकमा समृद्धि आउने उहाँको भनाई थियो ।
नेपाल चिया बगान श्रमीक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले निर्धक्क भएर रुख चिन्हमा मतदान गर्न श्रमीकहरुलाई आग्रह गर्दै मजदुरको अधिकार रक्षाका लागि नीति निर्माण गर्न कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा सहजीकरण ट्रेड युनियन कांग्रेस झापाका सचिव जीवन खड्काले गर्नुभएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।


