२०८२ फागुन ३ आइतवार , ०३:४६:३० बजे

Sajhamanch
'

काफ्ले बन्धु समाज हल्दिबारीको नेतृत्व बाबाको काँधमा

आइतवार, फागुन ३, २०८२

हल्दिबारी । काफ्ले बन्धु समाज नेपाल हल्दिबारीको साधारण सभा तथा तेस्रो अधिवेशन ११ सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत चयन गर्दै शनिबार सम्पन्न गरिएको छ ।

काफ्ले समाजका केन्द्रीय सचिव तथा झापा जिल्ला अध्यक्ष गोपाल काफ्लेको प्रमुख आतिथ्यमा शनिबार भएको अधिवेशनबाट मन्तब्य राख्दै उहाँले भदौ १४ गते तीनवटा बन्धुहरुको संस्थाबीच कार्यगत एकता गरी अबका कार्यक्रमहरु काफ्ले बन्धु समाज नेपालको ब्यानरमा गर्ने निर्णय स्मरण गराउनु भयो ।

उहाँले झापामा सुरु गरिएको काफ्ले जनगणनाको प्रभाव मुलुकभर परेकोले केन्द्रीय समितिले देशैभर जनगणना तथा घरधुरी सर्वेक्षण गरी वंशावलीको दोस्रो संस्करण प्रकाशन गर्ने तयारी गरेको पनि जानकारी दिनुभयो ।

प्रमुख अतिथि काफ्लेले आफ्नो मन्तब्यमा बन्धु समाजमा आवद्ध भएर हरेक व्यक्तिमा आत्मिक शान्ति एवम् भाइचारा वृद्धि हुने बताउँदै सबैले आफ्नो वंशजको गरीमाको लागि एकतावद्ध भएर काम गर्न आव्हान गर्नुभयो ।

अध्यक्ष हेमराज काफ्लेको अध्यक्षतामा आयोजित साधारण सभा तथा अधिवेशनमा उहाँले बितेको दुई वर्षमा भएको सांगठानिक प्रगति एवम् नियमित मासिक बचत तथा ब्याज आम्दानी र खर्चको विवरण सुनाउनु भएको थियो ।

उहाँका अनुसार हल्दिबारी गाउँपालिकाको भूगोलमा ३१ घर परिवार काफ्ले बन्धुहरुको बसोबास रहेको र सामाजिक एवम् आर्थिक क्रियाकलापमा २८ परिवार नियमितरुपमा जोडिने गरेका छन् ।

“सो भूगोलका तीन वटा परिवारलाई कसैगरी दुःख, सुखमा सामेल गर्न सकिएको छैन, उहाँहरुलाई जतिपटक जसले बोलाए पनि समाजको कार्यक्रममा आउनु हुन्न” अध्यक्ष काफ्लेको गुनासो थियो ।

२८ परिवारहरुले नियमित मासिक बचत गर्ने, बचत गरेको रकम सदस्य परिवारले ऋण सापटी चलाएर ब्याज तिर्ने परिपाटी बसाइएकोले हाल सो कार्यसमितिसँग ३ लाख ११ हजारको कोष रहेको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

अधिवेशनले वडा नं. ४ का धर्मप्रसाद काफ्ले (बाबा)को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा वडा नं. १ की देवी भट्टराई काफ्ले, सचिवमा वडा नं. २ का अश्विन काफ्ले, सहसचिवमा वडा नं. ४ की गोमा काफ्ले र कोषाध्यक्षमा वडा नं. २ का भोजराज काफ्लेलाई चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा वडा नं. ३ का भीमप्रसाद काफ्ले, वडा नं. १ की रञ्जना पौडेल काफ्ले, वडा नं. ५ की मुना काफ्ले र वडा नं. २ का मणि, अनिता र भूमि काफ्ले चयन हुनुभयो ।

उक्त कार्यक्रममा सो गाउँपालिकामा बसोबास गर्ने बन्धु परिवारका ६ जना ज्येष्ठ आमा तथा एकल महिलाहरुलाई दोसल्ला ओढाएर फलफूल प्रदान गरी सम्मान गरिएको थियो ।

धर्मप्रसाद काफ्ले (बाबा)ले सञ्चालन गर्नुभएको सो साधारण सभामा आध्यात्मिक व्यक्तित्व परमेश्वर काफ्लेले धर्मशास्त्रहरुको भावामृतसहित मन्तब्य राख्नु भएको थियो ।

सम्बन्धित खबर