
कमल । नेकपा एमालेले झापाको कमल गाउँपालिकाका दुईवटा वडामा निर्वाचन लक्षित छुट्टाछुट्टै भेला सम्पन्न गरेको छ ।
पार्टीको कमल गाउँपालिका ६ नम्बर वडा कमिटीले आयोजना गरेको बिस्तारित भेलाले मोहिनी खनालको सयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
पार्टीका जिल्ला कमिटी सदस्य तथा वडा नं. ६ का इञ्चार्ज दिपक खड्काका अनुसार करिव ३०० जनाभन्दा बढीको सख्यामा उपस्थित कार्यकर्ताले उक्त समिति गठन गरेका हुन् ।
भेलामा उपस्थित एमाले कार्यकर्ताले कुनै पनि आयातित ब्यक्तिलाई भोट दिएर आफ्नो क्षेत्रमा भएको विकासको गतिलाई रोक्न नसकिने सुझाव दिए ।
कार्यक्रममा उपस्थित लिला दाहालले भन्नुभयो– हाम्रो क्षेत्रमा हरेक वर्ष रतुवा खोलाको कटानले धुरुक्क रुवाएको थियो । आकाशमा कालो बादल लाग्ने बित्तिकै घर छोडेर भाग्नु पर्थ्यो । तर अहिले आफूले भोट दिएर विजयी बनाएका उम्मेद्वार केपी शर्मा ओलीको पहलमा रतुवामा स्थायी बाँध निर्माण गरिएपछि ढुक्क हुन पाइएको छ ।
सुगम झापा जिल्लाको दुर्गम गाउँ भनेर चिनिएको खयरबारीसहित सो क्षेत्रमा अझै धेरै विकासका योजना सञ्चालन हुने क्रममा छन् । यस्ता अधुरा योजना पूरा गर्न पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै मतदान गर्नुपर्ने छ ।
त्यस्तै कमल ७ मा भएको अर्को भेलाले प्रदेश कमिटी सदस्य भिम केरुङको सयोजकत्वमा २५० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

कार्यक्रममा ४ वटा उपसमितिसमेत गठन गरेको गाउँ कमिटीका उपाध्यक्ष अकलबहादुर गुरुङले जानकारी दिनुभयो । महिला विभाग उपसमिति, ज्येष्ठ नागरिक, युवा र आइटी सम्बधीका एक–एकवटा उपसमिति गठन गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै निर्वाचन परिचालन समितिका संयोजक तथा पूर्वमन्त्री देवेन्द्र दाहालले कुनै पनि मतदाताले भ्रममा नपरि आगन्तुक ब्यक्तिलाई समयमा चिन्न आग्रह गर्नुभयो ।
जेन–जी पुस्ताका युवायवतीलाई उक्साएर देशको सम्पदा आगो लगाउने ब्यक्ति काठमाडौं छोडेर झापा आएका छन् । यस्ता ब्यक्तिलाई झापाली जनताले फागुन २१ गते गतिलो जवाफ दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रम वडा कमिटीका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो ।


