
अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन नेपाली सांगीतिक क्षेत्रमा एक मीठो एवं प्रेमिल गीत सार्वजनिक भएको छ ।
गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ‘तिमीलाई देखे पछि’को म्युजिक भिडियोमा गायिका बबिना भट्टराई र गायक प्रताप दासको युगल स्वर रहेको छ ।
गीतका प्रेमिल शब्दहरु गीतकार बलदेव थापाले लेखेका हुन् भने संगीत बबिना भट्टराईकै रहेको छ। गीतको भिडियोमा गायिका बबिना भट्टराई र गायक प्रताप दास स्वयं फिचर्ड छन् जसले गीतको भावलाई अझ जीवन्त बनाएको छ ।
गीतको अन्तिममा गीतकार बलदेव थापालाई झुलुक्क देख्न पाइन्छ । गीतको भिडियोले प्रेमको सुन्दरता, एक अर्काको साथको महत्व र भावनात्मक गहिराइलाई सरल एवं प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ।
गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् । गीतमा गितारको मीठो धुन सञ्जिव बराइलीले भरेका छन् । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गीतको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । ऐ जे अजुले निर्देशन र पोष्टर डिजाइन गरेका गीतको भिडियोको सम्पादन तथा कलर मिनबहादुर रावलले गरेका छन् भने श्रृङ्गार प्रिया नगरकोटीले गरेकी छिन् ।
प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ले प्रेमी, प्रेमिका बीचको अटुट बन्धन, एकअर्का प्रतिको पूर्ण समर्पण र साथले जीवनका सबै कठिनाइ जित्ने सन्देश बोकेको पाइन्छ ।
तिमीलाई देखे पछि यो मन हुने दंग
सबै कुरा भुलिदिन्छु हुँदा तिमी संग ।
तिमीले नै भरिदियौ जिन्दगीमा रंग
एक पल तिमीलाई नदेख्दा हुन्छु नि झसंग
सबै कुरा भुलिदिन्छु हुँदा तिमी संग ।
प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ का यी हरफहरू गहिरो प्रेम, आत्मिक आकर्षण र प्रेमले जीवनमा ल्याउने रूपान्तरणको सुन्दर अभिव्यक्ति हुन् । प्रिय व्यक्तिलाई देख्ने बित्तिकै मन स्तब्ध हुन्छ, उत्साह र आनन्दले भरिन्छ । प्रेमी या प्रेमिकाको उपस्थितिले मन आफ्नै नियन्त्रणभन्दा बाहिर गएजस्तो अनुभूति हुन्छ । त्यति बेला मन ‘दंग’ हुन्छ, त्यति बेला मनले अव्यक्त खुशी, हर्ष र भावनात्मक कम्पन उत्पन्न गर्छ ।
‘तिमीलाई देखेपछि’ को गीत र म्यूजिक भिडियोले प्रेमलाई उज्यालो, सहारा, शक्ति र पूर्णताको रूपमा सशक्त चित्रण गरेको छ । बलदेव थापाका शब्दमा सरलताका साथै भावनाको गहिराई स्पष्ट देखिन्छ । बबिना भट्टराई र प्रताप दासको स्वरले गीतको प्रेमिल मर्मलाई अझ सजीव बनाएको छ ।
अंग्रेजी नयाँ वर्षको झुल्के घाम संगै सार्वजनिक भएको यो गीतले प्रेम, विश्वास र एकअर्काको साथको महत्व सम्झाउँदै दर्शक, श्रोताको मनमा मिठो छाप छोड्ने अपेक्षा गरिएको छ ।


