
शिवसताक्षी । लिम्बू जातिको मौलिक पर्व चासोक तङ्नाम २०८२ शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । चासोक तङ्नामको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।
प्रकृतिपूजाको रुपमा मानिँदै आएको चासोक तङ्नाम (न्वागी पूजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो ।
किरात याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समिति र किरात याक्थुङ चुम्लुङ र नालिफुङगो चुम्भोको संयुक्त आयोजनामा चासोक तङ्नाम पर्व मनाइएको किरात याक्थुङ चुम्लुङ शिवसताक्षीका विरबल जवेगुले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले सबै समुदायहरुलाई एकै स्थानमा जम्मा गरी मौलिक पर्व चासोक तङ्नामलाई उत्सवको रुपमा मनाउनका निमित्त कार्यक्रमको आयोजकलाई धन्यवाद दिएका छन् । उनले देशको पहिचान र सम्पत्ती भनेकै सबै जात जातिहरुको भाषा, धर्म, लिपी लगायतका संस्कृतिक पर्वहरु भएको बताए । उनले भने, यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको दायित्व हो भने ।
चासोक तङ्नाम एउटा इतिहास बोकेको पर्व भएकाले पछिल्लो समय यसको महत्व बढ्दै गएको छ भन्दै उनले आगामी दिनहरु उज्जवल बनाउनका निम्ति हामी हाम्रा नकरात्मक सोचहरुलाई निरुत्साहित गर्दै सबैले सृजनशिल भएर भावी सन्तनीका लागि काम गर्नु पर्ने बताए ।
कार्यक्रममा च्याब्रुङ नाच, साकेला नाच, लिम्बू भाषाका गीतहरु प्रस्तुत गरिएको थियो । त्यस्तै लिम्बू समुदायका मानिसहरु आफ्नो मौलिक पोशाकमा सजिएरका कार्यक्रममा सहभागी भएका थिए । चासोकमा लिम्बू समुदायका परम्परागत खेलहरु प्रस्तुत गरिएको थियो । आयोजकले यसपटक याक्थुङ पाङबो (लिम्बू समुदायको परम्परागत बस्ती) भल्कने गरी ३ वटा मौलिक घर निर्माण गरिएको थियो ।
गएको मंसिर १३ गतेबाट सुरु भएको मेलाको पनि समापन गरिएको छ । मेला समितिका संयोजक अग्नि राईले मेला सभ्य र व्यवस्थित भएको जानकारी दिए ।
कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, पूर्व सांसद तारासम याङ्यालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको स्वागत किरात याक्थुङ चुम्लुङ सदस्य तथा वडाध्यक्ष सन्त फउदिन गरेका थिए । वडा नं. ११ वडा सदस्य पर्शुराम अधिकारीले लिम्बू भाषा मै शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन भिम लिवाङले गरेका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, लेखा अधिकृत प्रकाश योङहाङ्ग, विभिन्न राजनीतिक दल, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत कोशी प्रदेका विभिन्न स्थानबाट २० हजार बढीको सहभागिता थियो ।


