अर्जुनधारा । कालिकापीठ कालीस्थानको २२औं वार्षिक अनुगठान आज बिहीबारदेखि शुरु गरिएको छ ।
वार्षिक अनुष्ठानको अवसरमा आयोजित सप्ताहब्यापी श्रीमद् गरुढ महापुराण, दैनिक रुद्राभिषेक एवं हवन, धनधान्याञ्चल महायज्ञको आज प्रारम्भ गरिएको हो ।
सप्ताहब्यापी अनुष्ठानको शंकराचार्यपीठ साधुटारका संस्थापक अध्यक्ष पं. केदानाथ खतिवडाले गर्नुभयो । यज्ञ अनुष्ठानको समुद्घाटन गर्दै खतिवडाले गरुड महापुराणमा जन्म, मृत्यु एवं जीवन र जगतको ब्याख्या रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, अर्जुनधारा वडा नं. ९ का वडाध्यक्ष भिष्म मिश्र, वडा नं. १० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, व्यवसायी महाविर अग्रवाल, भगवतभक्ति आश्रमका अध्यक्ष तुलसीराम आचार्य लगायतले शुभकामना मन्तब्य राख्नुभयो ।
सो क्रममा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अर्जुनधारा–९ निवासी एलबि सुब्बासहित दाताहरु स्व. दलमान तामाङ (चैनपुरे बा)का छोरा ज्ञानबहादुर तामाङलाई ज्येष्ठ नागरिक सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तिहरुको जीवनीबारे प्रकाश पार्दै पीठका आचार्य रघुनाथ रिजालले सम्मान पत्र वाचन गर्नुभएको थियो ।
कार्यक्रममा आफ्ना दिवंगत माता–पिताको स्मृतिमा झापा धुलाबारीका व्यवसायी महाविर अग्रवाल र उहाँको परिवारले २० जना माताहरुलाई बस्त्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।
कालिकापीठ कालीस्थानका अध्यक्ष ज्योतिषाचार्य पं. लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले कालिकापीठको इतिहास र विकासक्रम बारे चर्चा गर्नुभयो । पीठका उपाध्यक्ष डिल्लीराम दाहालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गर्नुभएको थियो ।
मंसीर २५ गतेसम्म सञ्चालन हुने महायज्ञको औपचारिक समुद्घाटन अघि निकालिएको शोभायात्राले कालीस्थान परिषर परिक्रमा गरेको थियो ।
संगीतमय श्रीमद्गरुड पुराण पीठका पूर्व विद्यार्थीहरु सिताराम तिम्सिना प्रमुख वाचक तथा पाठपारायण सिताराम खनाल रहनु भएको पीठका सचिव भोलानाथ पोखरेलले जानकारी दिनुभयो ।
पीठसंग सम्बन्धित रहेर योगदान गर्नुहुने दिवंगत आजीवन सदस्य तथा पदाधिकारीको दिब्य भगवत गतिको कामना एवं अक्षयकोष बृद्धिको लक्ष्य राखेर महायज्ञ आयोजना गरिएको पीठका उपाध्यक्ष कर्णबहादुर तामाङले जानकारी दिनुभयो ।


