२०८२ कार्तिक २८, बिहिवार , ०१:४५:४३ बजे

Sajhamanch
'

झापामा छुट्टाछुट्टै कुटपिट, दुईजना घाइते

बिहिवार, कार्तिक २८, २०८२

झापा । झापामा छुट्टाछुट्टै स्थानमा भएका कुटपिटका घटनामा दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका–११ बसपार्कमा हिजो राति कुटपिट हुँदा मेचीनगर–१३ का ३२ वर्षीय पुस्कर गुरागाईं घाइते भएका हुन्।

इलाम नगरपालिका–८ घर भई हाल अर्जुनधारा–११ बसपार्कमा बसोबास गर्दै आएका २८ वर्षीय सञ्जीव तामाङसँग सामान्य विवादपछि झगडा भएको प्रहरीले जनाएको छ।

सो क्रममा तामाङले गुरागाईंलाई कुटपिट गर्दा उनको अनुहारमा चोट लागेको र अगाडिको एउटा दाँत झरेको बताइएको छ। घाइते गुरागाईंको उपचार चारआली मेडिकलमा भइरहेको छ। कुटपिटमा संलग्न तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

यसैबीच, बिर्तामोड नगरपालिका–७ खालबारीमा पनि हिजो राति कुटपिटको अर्को घटना भएको छ। स्थानीय ३७ वर्षीय आइतराज जवेगु र ३४ वर्षीय सुरेन्द्र ढकालबीच मादक पदार्थ सेवन गरेको अवस्थामा झगडा हुँदा जवेगु घाइते भएका हुन्।

घाइते जवेगुलाई कुटपिट गर्ने ढकालले नै बिर्तासिटी अस्पतालमा उपचारका लागि पुर्‍याएको प्रहरीले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार जवेगुको टाउकोमा चोट लागेको छ।

दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिहिवार, कार्तिक २८, २०८२ | अपराध, जिल्ला समाचार, समाज

सम्बन्धित खबर