
म्याग्दी । कालिगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ।बेनी-जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँका अनुसार बिहीबार फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिनेछ। यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो।
‘१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ’, उनले भने। यसअघि मालढुङ्गा-बेनी सडकअन्तर्गत पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका- ८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो।
मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।


