
झापा । नेकपा (एमाले) झापाले कात्तिक २९ गते जिल्लास्तरीय शक्ति प्रदर्शन गर्ने भएको छ । संसद् पुनर्स्थापना, संविधानको रक्षा र असंवैधानिक सरकार खारेजीको माग गर्दै प्रदर्शन गर्न लागिएको एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा संलग्न आपराधिक र अराजक गतिविधिमा संलग्नहरूलाई कारबाहीका लागि दबाब दिन समेत जिल्लास्तरीय जनजागरणसभा आयोजना गरिएको उहाँको भनाई छ । बिर्तामोडमा आयोजना गरिने जनजागरण सभाको आवश्यक तयारी भइरहेको गिरीले जानकारी दिनुभयो ।
वडा, टोलदेखि पालिकासम्मबाट सहभागिता जुटाउन संगठन परिचालन गरिएको जनाइएको छ । जनजागरण सभामा २० हजार एमालेका नेता कार्यकर्ता, शुभचिन्तकहरूको सहभागिता रहने उहाँको भनाई छ ।


