
बिर्तामोड । यहाँस्थित सामाजिक संस्था अग्रसेन भवनको तीनवर्षे कार्यकालका लागि आज नयाँ कार्यसमिति चयन भएको छ ।
सोमबार अग्रसेन भवनको २६औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट रमेशकुमार अग्रवालको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थामा पहिलो चरणमा १२ जना सदस्य चयन हुने र चयन भएका सदस्यहरुबाट सहमतिमा पदाधिकारी चयन हुने प्रावधान अनुसार नयाँ समिति चयन भएको निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भाष्कर शर्माले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्षमा दिपेन्द्रकुमार अग्रवाल, सचिवमा सुजित वंशल, सहसचिवमा मांगीलाल जिन्दल र कोषाध्यक्षमा सुशीलकुमार अग्रवाल चयन हुनुभएको छ ।
अग्रसेन भवनका सदस्यहरुमा शिवकुमार अग्रवाल, इन्द्रभन्द विन्दल, जगदीशप्रसाद मित्तल, मनोज गोयल, पंकजकुमार मित्तल, मनोज बजाज र मनिष साहेवाला चयन हुनुभएको निर्वाचन आयुक्त शर्माले जानकारी दिनुभयो ।
आवश्यक संख्यामा एक–एकजनाको मात्र उम्मेद्वारी दर्ता भएकोले कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको प्रमुख निर्वाचन आयुक्त शर्माले बताउनु भयो । १५ सदस्यीय कार्यससमितिमा दुईजना सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान छ भने वर्तमान अध्यक्ष निवर्तमान अध्यक्षको हैसियतले कार्यसमितिमा रहने व्यवस्था छ ।

अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षतामा सचिव दिपेन्द्रकुमार अग्रवालले सञ्चालन गरेको साधारणसभा तथा अधिवेशनको नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सदस्य राजेन्द्रकुमार अग्रवालले समुद्घाटन गर्नुभएको थियो ।
समारोहमा अध्यक्ष भद्रपुरेले आफ्नो कार्यकालमा भएका कार्यक्रम तथा प्रगति प्रस्तुत गर्नुभएको थियो भने सहसचिव सुजित वंशलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुशीलकुमार अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सोही अवसरमा अग्रसेन भवनअन्तर्गत रहेका बालाजी मन्दिर र श्याम मन्दिरको आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । सभाले सबै प्रतिवेदन पारित गरेको थियो ।
सो अवसरमा भवनले विभिन्न किसिमका सहयोगदाता, भवनका संस्थापक–संरक्षक एवम् पूर्व अध्यक्षहरुलाई सम्मान पनि गरेको थियो ।


