
काठमाडौं । अभिनेत्री वर्षा राउतले आफ्नो हातमा लागेका दागको विषयमा भैरहेका मिडिया टिप्पणीबारे प्रष्टीकरण दिएकी छन् ।आगामी फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनको हातमा लागेका दागबारेका प्रश्न सोधिएका थिए ।
बुधबार बेलुका फेसबुकमा स्टाटस लेख्दै राउतले आफ्ना हातमा लागेका दागहरू १०र१५ वर्ष पुराना भएको उल्लेख गरेकी छन् । फेसबुक प्रोफाइलमा अहिले पनि दाग भएका फोटोहरू रहेको र अहिले पनि हेर्न सकिने उनको भनाइ छ ।लेख्छिन्, ‘आज बनेका धेरै हेडलाइनहरूले मेरो हातमा लागेको दागलाई उठाएर पूर्ण रूपमा भ्रामक तरिकाले प्रस्तुत गरेका छन् । मेरा १०-१५ वर्षअघिका तस्वीरहरू अझै पनि मेरो प्रोफाइलमै छन्, त्यहाँ त्यही बेलाका दागहरू स्पष्ट देख्न सकिन्छ ।’उनले आफ्नो व्यक्तिगत जीवनबारे अनुमान नगर्न समेत आग्रह गरेकी छन् । फिल्मभन्दा पनि आफ्नो व्यक्तिगत जीवनबारे टिकाटिप्पणी भएको भन्दै उनी दुःखित सुनिएकी छन् ।
मिडियामा आफूलाई नकारात्मकरुपमा चित्रण गर्ने गरिएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘मैले एउटा कुरा भनेकी थिएँ । मलाई कहिलेकाहीँ मिडियामा बोल्न डर लाग्छ । त्यो डर अहंकार होइन, न त दूरी बनाउने इच्छा हो । त्यो डर त त्यसैले हो किनभने जतिसुकै सरल मनले बोलेको कुरा पनि कहिलेकाहीँ गलत अर्थमा लिएर व्यक्तिगत जीवनमा जोडिन्छ । त्यसैले म बोल्नुअघि सयपटक सोच्न थालेकी छु ।’
‘हर्ष’को ट्रेलर रिलिज कार्यक्रममा आफूले कतिपय व्यक्तिगत प्रश्नको जवाफ नदिने निर्णय गरेको उनको भनाइ छ । ‘किनभने कहिलेकाहीँ मौन रहनु नै सबैभन्दा राम्रो उत्तर हुन्छ भन्ने लाग्छ । तर आज आएर मिडियामा मेरो नबोलेका कुराहरूलाई फरक अर्थमा प्रस्तुत गरिएको देख्दा मन दुख्यो’ उनले भनेकी छन् ।
कलाकारको लागि सबैभन्दा ठूलो पहिचान उसको काम, मिहेनत र सिर्जनाशिलता रहेको बताउँदै उनले व्यक्तिगत जीवनका अनुमान नरहेको बताएकी छन् । केही महिनायता वर्षाको वैवाहिक जीवनलाई लिएर मिडियामा केही चर्चा भएको थियो । यो स्टाटसमार्फत आफू कलाकारितामा केन्द्रित हुन चाहेको बताएकी छन् ।


