२०८२ कार्तिक ११, सोमवार , ०७:११:०० बजे

Sajhamanch
'

भद्रपुरमा गंगा आरतीसहितको छठपूजा

सोमवार, कार्तिक ११, २०८२
  • द्रोण अधिकारी

भद्रपुर । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीको किनारमा यसवर्ष गंगा आरतीसहितको छठ पूजा गरिएको छ ।

छठ पर्वको अवसर पारेर मेची घाटमा रहेको छठी माता मन्दिर परिसरमा गंगा आरतीको आयोजना गरिएको हो । भद्रपुर नगरपालिकाले आयोजना गरेको गंगा आरतीको नगर प्रमुख गणेश पोखरेलले सुरूवात हुन् ।

तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत अधिकांश जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर भव्य स्वरूपमा छठपूजा गरिएकोे हो ।

नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छठ पूजामा एक हजारभन्दा बढी पूजास्थल निर्माण गरी तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारी दुवैपट्टिबाट सबै समुदायका मानिस सहभागी भएर साझा पर्व मनाइरहेका हुन् ।

पूजा स्थलका लागि नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ति गरिरहेका छन् भने विभिन्न सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको निःशुल्क व्यवस्था गरेका छन् ।

पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका बासिन्दाले छठपर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेका छन् । चार दिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन बिहान उदाउँदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न हुने गर्छ ।

यो पर्वमा जन सहभागिताका आधारमा नेपालको जनकपुर पछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका अग्रज विकासकुमार गुप्ता बताउँछन् ।

झापामा मेची, निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कनकाइ, रतुवा आदि नदी तथा खोला किनारमा भव्य रूपमा सजावटसहित छठ पूजा गरिँदै आएको छ ।

सम्बन्धित खबर