
झापा । झापामा पहिलोपटक आयोजना हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक आकर्षक बन्ने देखिएको छ । विजेता टिमले रोचक रूपमा नगद १० लाख रुपैयाँ हात पार्ने गोल्डकप आयोजक समितिले घोषणा गरेको छ ।
कात्तिक १५ गतेदेखि २२ गतेसम्म शिवसताक्षीको दुधे रंगशालामा हुने यो अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्ताले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हरेक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई नगद १५ हजारसहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमसँगै भारत, भुटान र नेपालका तीन ए डिभिजन क्लब प्रतिस्पर्धामा उत्रिने झापा महिला गोल्ड कपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिनुभयो ।
आयोजकले प्रतियोगितालाई महिला खेलाडी उत्प्रेरणा र ग्रासरुटस्तरमै महिला फुटबललाई सुदृढ गर्ने अभियानका रूपमा लिएको छ । दुधे रंगशाला पनि प्रतियोगिता लक्षित गरेर स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ ।
शिवसताक्षी नगरप्रमुख तथा प्रतियोगिताका संरक्षक मेगाहाङ थोप्राका अनुसार पक्की र अस्थायी प्यारापिट निर्माण, खेलमैदानको सुधार तथा अन्य पूर्वाधारको काम तीव्र गतिमा भइरहेको छ । प्रतियोगिता सञ्चालनमा झण्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
झापामा महिला फुटबलको इतिहास रच्ने यो गोल्डकप महिला खेलाडीको सपना र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।