२०८२ असोज ६, सोमवार , ०७:४६:४७ बजे

Sajhamanch
'

इलाका प्रहरी भवनको झ्याल निर्माणमा इस्ट होराइजनका पूर्व विद्यार्थीको योगदान

सोमवार, असोज ६, २०८२

मेचीनगर । झापाको धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी माविका पूर्व विद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाइ सोसाइटीले क्षतिग्रस्त इलाका प्रहरी भवनको झ्याल निर्माण गरिदिएको छ ।

जेनजी आन्दोलनका क्रममा तोडफोड गरेर काम नलाग्ने बनाइएको इलाका प्रहरी कार्यालय धुलाबारीको कार्यालय भवन तथा अन्य भवनको झ्यालको पुनर्निर्माण सोसाइटीले गरिदिएको हो ।

आज एक कार्यक्रमका बीच सोसाइटीले झ्याल हस्तान्तरण गरेको छ । झ्यालको निर्माण आजै सम्पन्न भएको सोसाइटीका अध्यक्ष भूमि पौडेलले जानकारी दिए ।

करिब एक लाख रुपैयाँको लागतमा प्रहरी कार्यालयको झ्यालको पुनर्निर्माण गरिएको हो । विद्यालयका पूर्वविद्यार्थीहरुबाट संकलन गरिएको सहयोग रकमले झ्याल निर्माण गरिएको सोसाइटीका महासचिव हिमाल खरेलले बताए ।

हस्तान्तरण कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले विद्यार्थीबाट संकलन गरिएको रकमबाट सुरक्षाजस्तो संवेदनशील पक्षमा काम गरिएकोमा खुसी व्यक्त गरे ।

चाडपर्वको मुखमा सुरक्षा दिने निकायकै असुरक्षित देखिएपछि सोसाइटीले प्राथमिकतामा राखेर प्रहरी कार्यालय धुलाबारीको झ्यालको सबै सेट नयाँ लगाइदिएको अध्यक्ष पौडेलले बताए ।

सम्बन्धित खबर