
काठमाडौं । नेपाली कांग्रेसले अहिलेको विषम परिस्थितिमा संयमता, संवाद र एकता आवश्यक रहेको बताएको छ ।
कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य गरी देशको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नै अवलम्बन गर्नुपर्ने बताउनुभएको हो । ‘
भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी छ, नेपाल देशको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढङ्गले सुनिश्चित गर्ने दुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ, मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिँड्न चाहने सबैमा नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
विधि विहीनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौँ अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।
सोमबार जेनजीको प्रदर्शनका क्रममा अत्यधिक बल प्रयोगबाट भएको गम्भीर अपराधको उच्चस्तरीय आयोग मार्फत गहिरो छानबिन गरेर दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने उहाँहरूको धारणा छ ।
सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्ने गरिएको आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको उहाँहरूको ठहर छ ।
सोमबार भएको मानवीय क्षतिले दिएको चोटमाथि मंगलबारका घटनाहरूले थप पीडा थप्न पुगेको भन्दै उहाँहरूले सिंहदरबार, शीतल निवास, संसद् भवन, सर्वोच्च अदालत लगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खर्बौँको संरचना अनि लोकतान्त्रिक संस्था ध्वस्त गर्ने र सार्वजनिक सम्पत्तिमा नष्ट गर्ने कार्य भएको बताउनुभएको छ ।
कयौँ सरकारी कार्यालय, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठान आदिमा गरिएको आगजनी अत्यन्तै दुःखद र निन्दनीय रहेको कांग्रेसले जनाएको छ । आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतवश पसेकाहरूले योजनाबद्ध रूपमा यो विध्वंस गरेका हुन् भन्ने कांग्रेसको बुझाइ छ ।
यो विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि राष्ट्रपतिले लिनुभएको पहलकदमीको स्वागत गर्दै सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न कांग्रेसले आग्रह गरेको छ ।
नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आआफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आमनागरिक, नागरिक समाज, सञ्चार जगत्, अन्तराष्ट्रिय समुदाय सबै तहबाट पनि साथ सहयोगका लागि कांग्रेसले अपिल गरेको छ ।
यो पहललाई जेनजी पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पुर्याउन उहाँहरूले आग्रह गर्नुभएको छ । त्यसो गर्दा आवश्यकताको सिद्धान्त बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ उहाँहरूको धारणा छ ।
हरेक देशको प्रगति यात्रा र राजनीतिमा अनुकूल र प्रतिकुल स्थिति आउने बताउँदै नेपालले पनि पटक पटक यस्तो अवस्था सामना गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
‘दुवै अवस्थामा संयम एवं एकतासाथ कार्य गर्नु र नागरिक पङ्क्तिसँग जोडिइरहनु प्रत्येक पार्टी सदस्यको कर्तव्य हुन्छ, पछिल्ला दिनमा विकसित घटनाक्रमबाट देश र विदेशमा रहनुभएका साथीहरू चिन्तित हुनुहुन्छ, अलमलिनु भएको छ, नेपाली कांग्रेस धेरै पटक अनेक आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि बढेको हो, त्यसैले अहिलेको विषम परिस्थितिमा सबै साथीहरूलाई कुनै पनि रूपमा विचलित नभई संयम रहन, विवेकपूर्ण ढङ्गले कार्य गर्न र एकताबद्ध रहन अपिल गर्दछौँ ।
हामी पुनः विश्वास दिलाउन चाहन्छौँ–गम्भीर आत्म समीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बिचबाट हामी फेरि नयाँ ढङ्गबाट अगाडि बढ्नेछौँ र समुन्नतिको यात्रालाई सम्हाल्ने छौ’, विज्ञप्तिमा लेखिएको छ ।