२०८२ भदौ २५, बुधवार , ०८:०१:०५ बजे

Sajhamanch
'

वर्तमान संकटको राजनीतिक निकास संविधानबाटै खोजिनु पर्छ : एमाले

बुधवार, भदौ २५, २०८२

काठमाडौं । सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र लुटपाटपछि सत्ताबाट अप्रत्यासित बाहिरिन बाध्य नेकपा (एमाले)ले पार्टी पंक्तिलाई जिम्मेवार र शान्त हुन आग्रह गरेको छ ।

एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले आज अपरान्ह संयुक्त वक्तव्य जारी गर्दै पार्टी पंक्तिलाई शान्त, एकताबद्ध र जिम्मेवार भएर अगाडि बढ्न आह्वान गर्नुभएको हो ।

संयुक्त वक्तव्यमा भदौ २३ गते जेन–जी पुस्ताले सञ्चालन गरेको भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको र ४ सयभन्दा बढी घाइते भएको घटनाप्रति दुःख जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

दुवै नेताले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा पार्टीको जोड रहेको स्पष्ट गरिएको छ।

तर उक्त पीडा ओभाउन नपाउँदै देशभर भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले राष्ट्रलाई स्तब्ध तुल्याएको वक्तव्यमा उल्लेख छ।

संघीय संसद भवन, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका संवैधानिक निकायका संरचना ध्वस्त हुनुका साथै दुर्लभ अभिलेख जलेर नष्ट भएको उहाँहरूको भनाई छ ।

जेन–जीका नाममा भएको अराजकताका कारण होटल, बैंक, सुपरमार्केट, निजी सम्पत्ति र सयौँ सवारी साधनमा खर्बौँको क्षति पुगेको तथा कैदीबन्दी भाग्ने घटनाले मुलुकलाई दशकौँ पछाडि धकेल्ने खतरा देखिएको चिन्ता पनि उहाँहरूले गर्नुभएको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्ने आयोजकहरूको पूर्वघोषणा विपरीत यस्ता विध्वंसात्मक गतिविधि कसरी भए भन्नेबारे यथार्थ छानबिन आवश्यक रहेको एमालेले जनाएको छ। यसक्रममा सुरक्षा निकायको भूमिकाको पनि मूल्यांकन हुनुपर्ने एमालेको धारणा छ ।

वक्तव्यमा पार्टी कार्यकर्तालाई नियमित सम्पर्कमा रहन, जनताको जिउधनको रक्षा गर्न, शान्ति–सुरक्षा कायम राख्न र पीडितलाई राहत पुर्‍याउन आह्वान गरिएको छ।

यसका साथै, प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधान सम्मत र लोकतान्त्रिक बाटोबाट मात्रै खोजिनुपर्ने एमालेले माग गरेको छ।

‘लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रणालीलाई कमजोर बनाउन कुनै प्रयत्न हुनु हुँदैन। संविधानको दायरामा बसेर मात्र सुशासन, सेवा प्रवाह र तीव्र विकासको युवा पुस्ताको माग सम्बोधन गर्न सकिन्छ’ एमालेले भनेको छ।

एमालेले असामान्य परिस्थितिको लाभ उठाउँदै भइरहेको लुटपाट र हिंसा नियन्त्रणका लागि नेपाली सेनासहित सबै सुरक्षा निकायलाई प्रभावकारी ढंगले परिचालन गर्न आग्रह गरेको छ।

सम्बन्धित खबर