२०८२ भदौ ९, सोमवार , १०:३४:२० बजे

Sajhamanch
'

काँकडभिट्टा नाकाबाट आयात र निर्यात दुवै घट्यो

सोमवार, भदौ ९, २०८२

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु. तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।

यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवमा रु. तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा रु. एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा रु. एक अर्ब ८० करोड ८२ लाखको बस्तु तथा सामान निर्यात भएको थियो ।

कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने रु. १५ करोड १८ लाखले बढेको छ । गत आव २०८१/८२ को साउन महिनामा रु. एक अर्ब ११ करोड ३२ लाख राजस्व सङ्कलन भएको थियो ।

सम्बन्धित खबर