
झापा । मारवाडी युवा मञ्च बिर्तामोड र मारवाडी युवा मञ्च सिलिगुढीको संयुक्त आयोजनामा नेपालका पाँच सयभन्दा बढी मानिसलाई निःशुल्क कृतिम हात खुट्टा बितरण गरिने भएको छ ।
नेशनल मारवाडी फाउण्डेशनको सहयोगमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने भएको हो ।
उनीहरुलाई सिलिगुढीमा १४ सेप्टेम्वरमा कृतिम हात खुट्टा वितरण गर्न लागिएको बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको हो ।
मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व महासचिव प्रविण अग्रवालले विशेष कारणले हात खुट्टा गुमाएका जो कोहीलाई निःशुल्क कृतिम हात खुट्टा प्रदान गरिने बताए । उनीहरुलाई भदौ २९ गते बिर्तामोडस्थित अग्रसेन भवनबाट सिलिगुढीसम्म लाने र कृतिम हात खुट्टा प्रदान गरिए पछि बिर्तामोडसम्म नै ल्याउने ब्यवस्था मिलाइएको अग्रवालको भनाई छ ।
जसका लागि यातायातको प्रवन्ध गरिएको छ । खान र बस्न समेत मारवाडी युवा मञ्च सिलिगुढीले व्यवस्थापन गरेको उनको भनाई छ ।
दुई वर्षअघि पनि नेपालबाट एक सयभन्दा बढीले यो सेवा लिएका थिए । यसवर्ष पाँच सय जनालाई सेवा उपलब्ध गराउने लक्ष्य रहेको अग्रवालले बताए ।
कृतिम हात खुट्टा आवश्यक पर्नेहरुले मारवाडी युवा मञ्च बिर्तामोडमा सम्पर्क राख्न सकिने जनाइएको छ ।