
काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तराष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो ।
पहिरोको माथिल्लो भागमा स्थानीयबासीको बस्ति रहेको र उक्त पहिरोको कारण बस्तिसमेत जोखिममा रहेको हुँदा कठिनाई भएको थियो । सडक डिभिजन चरीकोटबाट खटिएको यन्त्र, उपकरणसहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो ।
सो स्थानमा नयाँ डिजाईन अनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको कामसमेत भइरहेको सडक विभागका महानिर्देशक डा. बिजय जैसीले जानकारी दिनुभएको छ । पहाडी धरातल र लेदो बगि रहने गरेका कारण सो स्थानमा समय समयमा समस्या आउने गरेको छ ।
ग्याविन पर्खाल लगायतका अन्य संरचनाहरुको निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशिल रहेको जैसीले बताउनुभयो । सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययनसमेत जारी राखेको सडक विभागले जनाएको छ ।
पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारी साधन सञ्चालन गरिएको र बिहीबार अपह्रान्हदेखि ठूला सवारी साधनहरु समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानले जानकारी दिनुभयो ।
यातायात सहज रुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरु अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उहाँले जनाउनुभयो ।
केही दिन अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त राजमार्गमा गइरहने पहिरो नियन्त्रणका लागि दिगो विकल्प खोज्न सडक विभागलाई निर्देशन दिनु भएको थियो ।
दीर्घकालिन समाधानका लागि केही समय लाग्ने भए पनि चाडपर्वहरु नजिकिँदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरी प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन रहेको थियो ।