
झापा । नेकपा (एकीकृत समाजवादी) झापाले पार्टीको चौथो स्थापना दिवसको सन्दर्भमा जिल्लास्तरीय खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
‘सुशासन र रोजगारी समाजवादको तयारी’ विषयमा आधारित रहेर प्रतियोगीहरुले ३ मिनेटसम्मको भिडियो उत्पादन गरी यही साउन २५ गतेदेखि भदौ १ गते बिहान १० बजेसम्म पार्टीले तोकेको मोवाइल नम्बरमा भिडियो पठाउनु पर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पार्टीका जिल्ला अध्यक्ष विपी भट्टराईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जुनसुकै उमेर समूहका व्यक्तिले उक्त थिममा आधारित रहेर आफ्नो भिडियो उत्पादन गर्न सक्नेछन् भने पार्टीले एप्रुभ गरी भदौ १ गते आफ्नो पेजमा अपलोड गरेपछि भ्यूज, सेयर र लाइकको आधारमा उत्कृष्टता मापन गरिनेछ ।
भदौ ८ गते बिहान १० बजेभित्र उक्त कन्टेन्टको भ्यूज, सेयर र लाइकको आधारमा ५० प्रतिशत र निर्णयक मण्डलले विषयको गहनता एवम् प्रस्तुतिको आधारमा ५० प्रतिशत अंकभारका आधारमा उत्कृष्ट छनोट गर्ने उहाँले बताउनु भयो ।
पार्टीको स्थापना दिवस भदौ ९ गते आयोजना गरिने कार्यक्रममार्फत सो प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार रुपैयाँ नगद प्रदान गरिने अध्यक्ष भट्टराईले बताउनु भयो ।
पछिल्लो समय भ्रष्टाचार मौलाउँदै गएको कारण पार्टीले सुशासन र रोजगारी समाजवादको तयारी नारा दिएर यसको नियन्त्रणका लागि अभियान चलाइरहेको सन्दर्भ र पार्टीको चौथो स्थापना दिवसको छेको पारेर सोही थिममा प्रतियोगिता आयोजना गरिएको निवर्तमान अध्यक्ष वेदराज रेग्मीको भनाई छ ।
यसैबीच, जिल्लाका १५ वटै पालिकामा नमूनाका रुपमा विपन्न परिवारको आवास निर्माणका लागि पार्टीले काम थालेको जानकारी दिइयो । पार्टीलाई श्रम अभियानमा जोड्न, पार्टी सदस्यको योगदानमा आधारित रहेर विपन्न परिवारको घर निर्माण गरिदिने उद्देश्यअनुरुप भद्रपुर २ पृथ्वीनगरमा इन्द्रमाया खातीको लागि आवास निर्माण थालिएको जनाइएको छ ।
पत्रकार सम्मेलनको भिडियो लिङ्क :
https://www.facebook.com/share/v/1L6M9cjSTM/