
- साबित्रा दहाल
कनकाई । अखिल नेपाल महिला संघ कनकाई नगर कमिटीको चौथो नगर सम्मेलन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
नगर कमिटी अध्यक्ष अनिता राईको अध्यक्षतामा आयोजित नगर सम्मेलनमा उहाँले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरिएको थियो ।
समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताको लागि सुदृढ संगठन भन्ने नाराका साथ अघि बढेको सो संगठनले सामन्तवाद, साम्राज्यवाद, नवउदारवाद, पितृसतात्मक र उत्पीडनको विरुद्धमा नेपाली महिलाहरुलाई जागृत, संगठित र आन्दोलित गर्दै आएको अध्यक्ष राईले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
तत्कालीन संविधान सभाका सदस्य अम्बिका खवासको प्रमुख आतिथ्यमा आयोजित चौथो नगर सम्मेलनमा सचिव निर्मला खड्काले आफूहरुको कार्यकालमा अघिल्लो कमिटीले जोडेका अक्षयकोष रकम १ लाख ३५ हजारलाई बृद्धि गरी ३ लाख ५० हजार रुपैयाँभन्दा बढी बनाएको जानकारी दिनुभयो ।
उहाँले अक्षयकोषको व्यवस्थित सञ्चालनको लागि कार्यविधि बनाएर अनुमोदन गरी कार्यान्वयनमा ल्याएको, वडा नं. १, २ र ३ कमिटीले उत्कृष्ट कार्यसम्पादन गरी संगठनलाई चलायमान बनाएकोले उत्कृष्ट वडा घोषणा गरेको पनि सुनाउनु भयो ।
नगर कमिटी सचिव खड्काले अनेमसंघका पूर्वनगर अध्यक्षहरु ७ जनालाई संगठनको स्थापना र विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको र सहभागीको रुपमा छिमेकी पालिकाका अनेमसंघका अध्यक्षहरुलाई समेत आमन्त्रण गर्ने परम्पराको थालनी गरिएको जानकारी दिनुभयो ।
सम्मेलन समुद्घाटन समारोहको सञ्चालन उपाध्यक्ष कमला अधिकारी र सचिव निर्मला खड्काले संयुक्तरुमा गर्नुभएको थियो भने आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई कोषाध्यक्ष रेणुका खवासले शाब्दिक स्वागत गर्नुभएको थियो ।
सो नगर सम्मेलनले कमला अधिकारीको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा अम्बिका खरेल, सचिवमा गोमा अधिकारी खबास, सहशचिवमा जानुका पाँचकोटी रकोषाध्यक्षमा सुमित्रा न्यौपाने खतिवडालाई चयन गरिएको अनेम संघ झापाका सचिव कल्पना ढकाल चौंलागाईंले जानकारी दिनुभएको छ ।