
द्रोण अधिकारी
झापा । साविकको मेची अञ्चल अस्पताल भद्रपुरमा आँखा उपचार सेवा सुरू गर्ने पहिलो आँखा चिकित्सक मेमलाल राजवंशीको पहिचान छायाँमा परेको छ ।
मेची अस्पतालबाट आँखा उपचार सेवा सुरू गराउने राजवंशीले झापामा व्यवसायिक र व्यापारिक केन्द्रका रूपमा आँखा अस्पताल खुल्ने वातावरण समेत बनाउनु भएको थियो ।
मेची अञ्चल अस्पतालमा वि. सं. २०४२/०४३ सालदेखि आँखा उपचार सेवा सुरू गर्दै राजवंशीले भद्रपुरमा रहेर आँखा विभागमा करिव १० वर्ष सेवा दिनु भएको थियो ।
पछि आँखा उपचारमा बृहद क्रान्ति ल्याउन बिर्तामोड सर्नुभएका राजवंशीकै कारण झापामा आँखा उपचार सेवाले अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको हो । अहिले दर्जन हाराहारीको संख्यामा आँखा अस्पताल रहेको झापामा भारत, भुटान, बंगलादेशसम्मका बिरामी उपचार गर्न आउने गरेको तथ्याङ्क छ ।
वि. सं. २०५०/०५१ तिर बिर्तामोडको बोलबम पेट्रोल पम्प नजिक दुईवटा साना अँध्यारा कोठा लिएर आँखा उपचार केन्द्र सुरु गर्नु भएका राजवंशीले नेपाल बाहिरका आँखाका बिरामी नेपालमा उपचार गर्न आउने वातावरणसमेत निर्माण गरेको बताइन्छ ।
आफ्नो एकल प्रयासमा आँखा उपचार केन्द्रलाई निरन्तरता दिनु भएका राजवंशीले अन्य उपचार केन्द्र जस्तै आँखा उपचार केन्द्र पनि भिन्न अस्तित्व बोकेको ठूलो अस्पताल बन्न सक्छ भने मान्यता स्थापित गराई छोड्नु भएको थियो ।
देश विदेशमा चर्चित हालको मेची आँखा अस्पतालको स्थापनाका लागि पहलकदमी गरेका राजवंशीले चार दशक आँखा उपचारमै निरन्तर काम गरेर अनिवार्य अवकास पाउनु भएको हो ।
आँखा उपचारमा ४० वर्ष काम गर्दा लाखौं व्यक्तिलाई आँखा उपचार सेवा प्रदान गरेका राजवंशी सरकारी र समुदायिक आँखा उपचार केन्द्र झापामा स्थापित गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । बितेको ५ वर्षयता सेवा निवृत्त जीवन बिताइरहेका उहाँ यतिबेला विरामी अवस्थामा घरमै आराम गरिरहनु भएको छ ।
राजवंशीको बारेमा रेडक्रसकर्मी लोकराज ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ “उहाँको घरमा अकस्मात पुग्दा अत्यन्तै दुखित भएँ । उहाँको कुरा सुन्ने, हेर्ने, ढाढस दिने, उत्साह जगाउने विषयमा कसैलाई कुनै मतलब छैन । उहाँको एउटा कुरा निकै बिझो, काम गरूञ्जेल मात्र हो, सबैले चिन्ने, बुझ्ने र सम्झने । उहाँ निकै बिरामी हुनुहुँदो रहेछ । आज झापामा २ दर्जन बढी आँखा अस्पताल होलान । यही व्यावसाय सेवाको नाममा अहिले सारै मौलाएको पनि छ । ठूलो होडवाजी, हानाथाप पनि देखिन्छ ! तर, कुनै बेला झापामा आँखाको डाक्टर भनेर मेमलाललाई मात्र चिनिन्थ्यो । मेची आँखा अस्पताललाई कठिन घडीमा संघर्ष गर्दै आज त्यहाँ पुर्याउने मेमलाइ जीको योगदानलाई सलाम छ, नमन छ ।”
ढकालले उल्लेख गरेजस्तै पछिल्लो समय नेपाली समाज स्वार्थ केन्द्रित हुँदै गइरहेको छ । देश र समाजको उन्नतिका लागि योगदान दिनेहरू बल सकिएको दिन एक्लै कुनामा हराउनु पर्छ । आपत पर्दा सहयोग गर्ने मनहरू भेट्न गाह्रो छ । मेमलाल पनि त्यसको एउटा उदाहरण बन्नु भएको छ । समाजका हरेक क्षेत्रमा रगत पसिना बगाउनेहरू काम गर्न नसकेको दिनबाट सहयोगबिहिन हुन्छन् । सायद मेमलालको हालत पनि यसैको परिणाम हुन सक्छ ।