
द्रोण अधिकारी
झापा । नेपालको पूर्वी सिमान्तमा रहेको झापा सदरमुकाम चन्द्रगढी—भद्रपुर दक्षिण झापालाई समृद्ध बनाउने आधारका रूपमा पर्यटनको विकास र कृषिको उन्नतिमा लक्षित कार्ययोजना अबको आवश्यकता देखिएको छ ।
पूर्वी दक्षिणी झापाको समृद्धिसँग ऐतिहासिक स्थलहरु चन्द्रगढ, किच्चक बध, कचनकवल र जलथल वन आन्तरिक तथा बाह्य पर्यटक आगमनको क्षेत्र बन्न सक्छन् । स्थानीयको जीविकोपार्जनका लागि यहाँको जमीनको उर्वरता पहिचान गर्न आवश्यक देखिएको हो ।
यस क्षेत्रलाई चिनाउने पर्यटकीय स्थलको नाम लिने हो भने पहिलो स्थानमा धार्मिक तथा पौराणिक स्थल किच्चक बध धार्मिक स्थल पर्दछ । हाल भद्रपुर ३ मा पर्ने साविकको महेशपुर तथा पृथ्वीनगर गाउँ विकास समितिको सिमाना स्थलमा रहेको यो ठाउँ नदी मेची र देउनिया खोलाको किनारमा अवस्थित थुम्कोका रूपमा दखिन्छ ।
हरेक वर्ष स्वस्थानी पूर्णिमाका दिन मेला लाग्ने सो स्थलमा नेपाल भारत लगायत आसपासका क्षेत्रबाट हजारौं तीर्थयात्री मेला भर्न र दर्शन गर्न आउने गरेका छन् । किच्चकबधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको छ ।
सो स्थलमा भेटिएका पुरातात्विक सामग्रीहरूको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताव्दीतिरको मानव सभ्यतासित गाँसिएका सामग्री प्रमाणित भएको थियो ।
यस आधारमा सो क्षेत्रको राम्रो पहिचान दिलाउन सकिए आन्तरिक र बाह्य दुवै खालका पर्यटकको गन्तव्यस्थल बन्नसक्ने क्षेत्रका रूपमा किच्चक बधको संभावना देखिन्छ ।
अर्को पर्यटकीय संभावना बोकेको ऐतिहासिक क्षेत्र चन्द्रगढ हो । अहिलेसम्म यसको प्राचीनता र ऐतिहासिकता कति हो भनेर खोजीसम्म नगरिएको चन्द्रगढ क्षेत्र श्री ३ चन्द्रशमशेरको नामसित जोडेर मानव बस्ती विकास भएको मानिन्छ ।
सो स्थान मौर्यकालिन इतिहाससँग जोडिएको यहाँका अग्रजहरू बताउँछन् । प्रारम्भिक अध्ययन अनुसार विभिन्न १६ वटा थुम, २ वटा पोखरी र बीच–बीचमा अग्लो माटोले घेरिएको गोलो आकारको स्थल झापाकै किच्चकबध धार्मिक स्थलभन्दा पुरानो रहेको विज्ञहरूको दावी छ ।
तत्कालिन चन्द्रगढी गाविस २ मा पर्ने ६२ बिगाहा जमीनमा श्री ३ चन्द्र शमशेर आएर सैनिक किल्ला कायम गरी भौतिक रूपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनार समेत निर्माण गरिएको अनुमान गरिएको छ ।
हाल उक्त इनार भग्नावशेषको रूपमा पाइन्छ । सो क्षेत्र वरपर वन फँडानी गरी आदिवासी समुदायलाई चन्द्र शम्शेरले नै मानव बस्तीका रूपमा बसाएको स्थानीयको भनाइ छ ।
पूर्वी दक्षिणी झापाको पहिलो मानव बस्ती पनि यही हुनसक्ने आसपासका बासिन्दाको भनाई छ । सो स्थानको उत्खनन् नगरी यहाँको प्राचीनता बारे भन्न नसकिने अग्रजहरू बताउँछन् ।
त्यसैगरी दक्षिणी झापालाई चिनाउने अर्को पर्यटकीय स्थल हो कचनकवल । नेपालको होचो ठाउँको पहिचान बनाएको कचनकवलले झापालाई देश विदेशमा चिनाउन सफल भएको छ ।
पूर्वी नेपालको झापा जिल्लाको दक्षिणमा अवस्थित पूर्व र दक्षिणमा भारतसँग सिमाना जोडिएको, नेपालकै होचो स्थानको परिचय कचनकवलको रहेको छ । यही होचो स्थानको नामबाट गाउँपालिकाको नाम राखिएको हो ।
सो गाउँपालिकाको सिमाना पूर्वमा भारत, पश्चिममा बह्रदशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारतसम्म फैलिएको छ ।
यहाँ मनसुनी हावापानी (अर्ध उष्ण र उष्ण हावापानी पनि भनिन्छ) पाइन्छ । तापक्रमः गृष्म ऋतुमा ३६ डिग्री सेल्सियससम्म हुन्छ भने शीतकालमा औसत न्यूनतम तापक्रम १० डिग्री सेल्सियससम्म ओर्लिन्छ ।
वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मेदेखि सेप्टेम्बर महिनासम्म) यहाँ सरदर १३८ मिलिमिटरसम्म वर्षा हुने बताइएको छ ।
यी स्थानका अतिरिक्त दक्षिण झापालाई पहिचान दिलाउने अर्को स्थल हो धनुष पोखरी । सो पोखरीको पहिचान पनि किच्चक बधस्थल जस्तै महाभारतको कालखण्डसँग जोडिएको छ ।
साविकको जलथल गाउँ विकास समिति (हाल हल्दिबारी गाउँपालिका) मा रहेको सो पोखरीले पनि झापालाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
अर्को महत्वपूर्ण पर्यटकीय क्षेत्र जलथल वन पनि हो । चारकोशे झाडीको एउटा सानो अवशेषका रूपमा रहेको जलथल वन नेपालको सुदुर पूर्वको एकमात्र जैविक विविधता बोकेको प्राकृतिक सम्पदा हो ।
एशिया महादेशमा रहेका वनहरू मध्येमा जलथल वनलाई अधिक जैविक विविधता संरक्षित भएको मानिएको छ । हल्दिबारी, कचनकवल, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकासँग जोडिएको सो वन ६१०० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
सो वन क्षेत्रभित्र अनुसन्धानमा संलग्न विज्ञहरूले दशकयता गरेको निरन्तरको अनुसन्धानबाट देशभर ६०० प्रजातिका रुख रहेकोमा जलथलमा एक चौथाईभन्दा बढी अर्थात १५५ प्रजातिका रुख पाइन्छन् । त्यस्तै उन्यू ४३, झारपात २४६, लता÷लहरा ६४, बुट्यान ७८, पाम ४ प्रजातिका पाइन्छन् ।
त्यस्तै प्राणीमा पुतली १५७, माछा ४३, उभयचर १४, सरिसृप ३२, चरा २३५ र स्तनधारी २७ प्रकारका भेटिएका छन् । त्यस्तै ढुसी÷च्याउ ८४ प्रकारको भेटिएको छ ।
जलथल वन नेपालको महत्वपूर्ण र विशिष्ट प्रकारको वन भएको अध्येयताको ठहर छ । पूर्वी तराईमा मूल वनबाट छुट्टिएको सबैभन्दा ठूलो वनखण्ड समेत रहेको जलथल वनमा ५९० वनस्पति र ३५१ मेरुदण्ड भएका प्रजातिहरुको बासस्थान भएको अध्ययनले देखाएको छ ।
त्यस्तै दक्षिणपूर्वी एसियाका महत्वपूर्ण वनस्पतिका प्रजातिहरु, उष्ण प्रदेशीय सदाबहार बुच्काहरु, नेपालमा लटहरको सबैभन्दा ठूलो वन, तराईमा थाकलको प्राकृतिक थलो र १३ वटा संकटापन्न प्रजातिको बासस्थान जस्ता विशेषता जलथल वनमा रहेको छ ।
कतिपय विश्वमै नपाइने वनस्पति र जीवसमेत पाइने जलथल जंगललाई पर्यावरण पर्यटनका रूपमा विकास गर्न सकिन्छ ।
यी र यस्ता चर्चित स्थान रहेको पूर्वी दक्षिणी झापा विकास निर्माण र आधारभूत आवश्यकीय साधन तथा सुविधाबाट भने अन्य स्थानका तुलनामा अझै पनि पछाडि नै छोडिएको अवस्थामा छन् ।
यी क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारका अवसर कम रहेकै कारण यहाँका युवा युवती अवसरको खोजीमा गाउँ छोडेर अन्यत्र पलायन हुने क्रम तीब्र देखिन्छ ।
यहाँका स्थानीयको मूल पेशा कृषि रहेको छ भने पछिल्ला वर्षहरूमा कृषि उपजले उचित मूल्य नपाउँदा पेशाा परिवर्तन गर्नेहरू पनि बढ्दै गइरहेका छन् । भारतीय वजारबाट सस्तो दरमा आउने कृषि उत्पादनका कारण यस क्षेत्रका कृषकको उत्पादनले बजारमा प्रतिष्पर्धा गर्न नसक्दा कृषि पेशा छोड्ने क्रम बढेको हो ।
यस्तै पछिल्लो एक दशकयता जंगली हात्तीको उपद्रो पनि सो क्षेत्रमा बढ्दै जाँदा कृषि उत्पादनमा क्षति हुने क्रम पनि बढ्न थालेको छ । सो क्षेत्रमा रहेर निरन्तर कृषि कर्म गर्ने व्यवसायिक कृषक पेशा परिवर्तनमा उद्यत देखिन्छन् ।
संघीय शासन प्रणाली स्थापना भएपछि ग्रामीण सडक निर्माणले गति लियो, कृषि क्षेत्रमा अनुदान कार्यक्रमले प्रवेश पायो तर पनि कृषकको जीवनस्तर उक्सने तथा उन्नति हुने वातावरण निर्माण नहुँदा कृषि पेशा सम्मानित पेशा बन्न सकेको छैन ।
यस क्षेत्रको उन्नतिका लागि कृषि र पर्यटन क्षेत्र महत्वपूर्ण रहेका छन् । संघ, प्रदेश र स्थानीय तहका रूपमा रहेका तीनवटै सरकारले समन्वयमा लगानी गर्ने हो भने झापा सदरमुकाम दक्षिण क्षेत्रको उन्नति समयानुकूल तीब्र बन्ने निश्चित छ ।
कृषि र पर्यटनलाई जोडेर सरकार अगाडि बढ्ने हो भने दक्षिणी झापाका ग्रामीण बस्ती पनि उन्नत बन्न सक्ने अपेक्षा स्थानीयसित जीवित देखिन्छ ।