बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा हालसम्म २० लाख ४५ हजार १९१ रूपैयाँ जम्मा भएको जनाइएको छ ।
संघले एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ एक वर्षदेखि व्यवसायी सदस्य राहत कोष सञ्चालन गरेको थियो ।
संघले आज पत्रकार सम्मेलनको आयोजना गरी कोष स्थापनाको उद्देश्यसहित सदस्यलाई प्रदान गरिने राहतको लागि तयार पारिएको कार्यविधि सार्वजनिक गर्दै कोषमा हालसम्म जम्मा भएको रकमको बारेमा जानकारी गराएको हो ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कोषका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले कोषमा हालसम्म जम्मा भएको रकम विवरण सार्वजनिक गरेका थिए ।
संघका विशिष्ठ सदस्य निर्मल भट्टराईले स्वागत गरेको कार्यक्रममा कार्यविधि कोषाध्यक्ष युवराज निरौलाले वाचन गरेका थिए ।
व्यवसायिक सदस्य राहत कोषमा हालसम्म ५६ जनाले सहयोग गरेको उल्लेख छ । व्यवसायीहरूले आफ्नो जन्मदिन, वैवाहिक बर्षगाँठ, पितृको स्मृति लगायतमा राहत कोषमा रकम प्रदान गर्दै आएको अध्यक्ष न्यौपानेको भनाई छ ।
व्यवसायीहरूले कुनै करकाप बिना उत्साहपूर्वक ढंगले राहत कोषमा रकम सहयोग गर्दै आएको अध्यक्ष न्यौपानेले बताए । राहत कोषको ब्याजबाट प्रकृतिक प्रकोप, व्यवसायीलाई प्राणघातक रोग लागेको खण्डमा सहयोग गरिने कार्यविधिमा उल्लेख छ ।
कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।