२०८२ असार ४, बुधवार , १२:४७:२१ बजे

Sajhamanch
'

बाहुनडाँगीको हात्ती आतंक रोक्न सेनालाई सहयोग गर्न आग्रह अनुरोध

मङ्गलवार, असार ३, २०८२

मेचीनगर। पछिल्लो समय बाहुनडाँगीमा हुलका हुल आएको हात्तीले क्षति गर्न थालेपछि स्थानीय सरकारको पहलमा सरोकारवाला निकायसँग बसेको छलफलले नेपाली सेनालाई सहयोग गर्न अनुरोध गरेको छ ।

मंगलबार मेचीनगर नगरपालिकाको आग्रहमा नगरप्रमुखको कार्यकक्षमा जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा बसेको छलफलले निरन्तर हात्ती आएर क्षति गर्न थालेपछि अरिमदन गण चारआलीको नेपाली सेनालाई सहयोग गर्न अनुरोधसहित विभिन्न निर्णयहरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको छलफलमा कोशी प्रदेशका सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, अरिमदन गण चारआलीका गणपति प्राजु वस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बु, सशस्त्र प्रहरी वल नेपाल २ नं.हेड क्वाटरका गाणपति तुलबहादुर भण्डारी, डिभिजन वन कार्यालय झापा प्रमुख भरतबाबु श्रेष्ठ, एनटीएनसीकोशीका प्रमुख वीरेन्द्र गौतम, मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राई, २ का वडाध्यक्ष दिपक बराल, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मानव हात्ती द्वन्द व्यवस्थापन तथा बातावरण संरक्षक मञ्च कार्यबहाक अध्यक्ष राजकुमार घिमिरे, पूर्व अध्यक्ष हरिप्रसाद उप्रेती लगायतले हात्तीका समस्या, उपाय र समाधानका बारेमा घनिभूत छलफल गरेका थिए ।

छलफलमा अरिमदन गण चारआलीका गणपति वस्नेतले निकुञ्जमा हात्ती धपाउन समस्या नरहेको बताए । उनले बाहुनडाँगी तथा झापा निकुञ्ज क्षेत्र नभएकोले के गर्न सकिन्छ माथि कुरा गर्ने बताए ।

छलफलले पाँच बुँदामा निर्णय गरेको छ । यस्ता छन् निर्णयहरु :

मेचीनगर नगरपालिकाको बाहुनडाँगी क्षेत्रमा हालैका दिनमा भारत तर्फबाट ठुलो मात्रामा हात्तीहरु आउने गरेको र त्यसलाई धपाउने क्रममा स्थानीय बासिन्दा घाइते भएको, स्थानीय बासिन्दाको खेतीबाली तथा बासस्थानमा समेत ठुलो क्षति पुर्याईरहेको सन्दर्भ उपर छलफल गरी देहाय बमोजिम निर्णय गरिएको छ ।

(१) हात्तीलाई धपाउने क्रममा स्थानीयबाट होहल्ला गर्दा हात्ती उत्तेजित भइ झन् धेरै क्षति गर्ने भएकाले हात्ती मानव द्वन्द कम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, डिभिजन वन कार्यालय झापा, स्थानीय जानकार व्यक्तिहरुको संलग्नतामा हाती मानव द्वन्द न्यूनीकरण गर्न पहल गर्ने । तत्काल आवश्यक पर्ने इन्धन, टर्च लाइट लगायतका अत्यावश्यक सामग्री डिभिजन वन कार्यालय झापाले उपलब्ध गराउने र नपुग भएमा मेचीनगर नगरपालिकाले सहयोग गर्ने ।

(२) दीर्घकालीन रुपमा समस्या समाधानका लागि फेंसिंग, बत्ति प्रवन्ध, सडक मर्मत, तटबन्धन र जनचेतना जगाउन जरुरी हुने भएकाले फेंसिंगका लागि के कति बजेट आवश्यक हुन्छ रु डिभिजन बन कार्यालयले मेचीनगर नगरपालिका र मानव हात्ती द्वन्द ब्यबस्थापन तथा वातावारण संरक्षण मन्च समेतसंग समन्वय गरी लागत अनुमान तयार गर्ने र स्रोतका लागि डिभिजन वन कार्यालयले प्राथमिकतामा राखी आवश्यक कार्य गर्ने । नपुग बजेटका लागि मेचीनगर नगरपालिका लगायतका निकायसंग समन्वय गर्ने । साथै एनटिएनसी ले समेत उक्त विषयलाई गम्भीरतापुर्वक लिई फेंसिंग र जनचेतनामुलक कार्यक्रमलाई बजेट प्रवन्ध गर्ने ।

(३) ठुलो मात्रामा हात्ती आइरहने क्रम रहिरहेमा नेपाली सेनाले गर्न सक्ने सहयोगको बारेमा अरिदमन गणका गणपतिज्युलाई आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गर्ने ।

(४) ठाउँठाउमा तटबन्धन निर्माणबाट पनि हाती प्रवेशमा न्यूनीकरण गर्न मद्धत पुग्ने भएकाले जनताको तटबन्धन कार्यालयलाई तटबन्धनको लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने ।

(५) दीर्घकालीन समस्या समाधानका लागि आवश्यक बजेट प्रवन्ध गरिदिन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय तथा कोशी प्रदेश सरकारलाई नगरपालिका र जिल्ला प्रशासन कार्यालय मार्फत अनुरोध गर्ने । यस कार्यका लागि सम्बन्धित क्षेत्रबाट संघिय सांसद र कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीयज्यूहरुलाई समेत पहलकदमीका लागि अनुरोध गर्ने ।

कार्यक्रमको सहजीकरण झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले गरेका थिए ।

सम्बन्धित खबर