२०८२ असार २, सोमवार , ०१:४८:१३ बजे

Sajhamanch
'

मेचीनगरमा ‘नसर्ने रोग न्यूनीकरण’ अभियान

आइतवार, असार १, २०८२

मेचीनगर । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर मेचीनगरले आजदेखि नसर्ने रोग न्यूनीकरणका लागि अभियान सुरु गरेको छ ।

धाइजन स्वास्थ्य चौकीमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले सुगर र प्रेसरको जाँच गरेर नसर्ने रोग न्यूनीकरण अभियान शुभारम्भ गरेका हुन्।

नगरप्रमुख बुढाथोकीले विभिन्न रोगका कारण विरामीहरु घर–घरमा रहेको बताए । उनले स्वास्थ्यमा हेलचेक्र्याँई नगर्न आग्रह गर्दै नियमित औषधि, खानपिन, रहनसहन, केही समय बचत गरेर बिहान योग, व्यायम, हिड्डुल गर्नुपर्ने सुझाव दिए ।

‘घर अगाडि पिच बाटोमात्र बनाएर के गर्नु’ नगरप्रमुख बुढाथोकीले भने– ‘सबै घरमा मान्छे बिरामी छन् । स्वास्थ्यमा पनि ध्यान दिनु पर्छ भन्ने लागेर स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु चलाइरहेका छौँ ।’

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा सबै वडामा सञ्चालन गर्ने गरी नसर्ने रोग न्यूनीकरणका लागि उच्च रक्त्तचाप, मधुमेह, मिर्गौला परीक्षण, उपचार र रोकथाम सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त अभियान मेचीनगर–११ नम्बर वडाबाट सुरु गरिएको छ । उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अविनाश देवले मन्तव्य व्यक्त गरेका थिए ।

अभियानका विषयमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले प्रकाश पारेकी थिइन् । कार्यक्रमको अध्यक्षता वडा नम्बर ११ का वडाध्यक्ष रुद्र डाँगीले र सञ्चालन धाइजन स्वास्थ्य चौकीका इन्चार्ज दिपेन्द्र चौधरीले गरेका थिए ।

प्रत्येक वडामा २१ दिनसम्म सञ्चालन हुने शिविरमा प्रतिष्ठानका डा. देव, एकजना स्वास्थ्यकर्मी अनामिका मण्डल, ल्यावका प्राविधिकको टोली रहने बताइएको छ । त्यस्तै स्वास्थ्य चौकी र स्वास्थ्य शाखाका गरी १३ जनाको टिम अभियानमा खटिएका छन् ।

स्वास्थ्य शाखा प्रमुख सापकोटाका अनुसार टोलमा स्वयम सेवकहरुले ४० वर्षभन्दा कम र त्यसभन्दा माथिका रोगी पहिचान गरेर आएका ५० जना विरामीहरुको दैनिक उपचार सेवा हुनेछ ।

शिविरमा उपचारमा आएका बिरामीको प्रकृति हेरेर निःशुल्क औषधिसमेत दिइने बताइएको छ । मेचीनगरका करिव एक लाख ३८ हजार नागरिक मध्ये ५० प्रतिशतलाई उपचार सेवा पुर्याउने लक्ष्य रहेको सापकाटाले जानकारी दिइन् ।

स्वास्थ्य शाखाका अनुसार विभिन्न प्रकारका नसर्ने रोग लाग्न सक्ने अनुमान गरिएका ३६ दशमलव ४ प्रतिशत नागरिकलाई उपचार सेवा दिइने छ ।

उपचार सेवा दिइनु पर्ने अनुमान गरिएका ४० वर्ष कम उमेरका ३५ प्रतिशत र ४० देखि ६० वर्ष उमेरका २३ दशमलव ६० प्रतिशतका नागरिक रहेको उनको भनाई छ ।

सम्बन्धित खबर