
अर्जुनधारा । वैदेशिक रोजगारका सिलसिलामा विभिन्न मुलुकमा रहेका युवाहरुले ‘फियो ड्यामेज’ भएर कलेजोमा पानी जमेर पेट फुल्ने तथा आन्द्रामा समेत समस्या भएका ३० महिने बालकको उपचारका लागि एक लाख ४६ हजार ३२९ रुपैयाँ सहयोग गरेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका–५ स्थित चाँदनी चोकमा हजुरबुवा र हजुर आमाको आश्रयमा बस्दै आएका बालक अनमोल कुमालको उपचार सहयोगार्थ ‘अनमोल कुमाल बचाउ अभियान’ सञ्चालन गरेर संकलित रकम आज आइतवार बालकको परिवारलाई हस्तान्तरण गरिएको हो ।
हल्दीबारी गाउँपालिका–३ घर भई हाल कतारमा रहेका भारती बन्धु एकता समाज नेपालका महासचिव तथा झापाली समाज कतारका महासचिव विमल भारती, अर्जुनधारा–५ घर भई हाल कतारमा रहँदै आएका सुजन थापा, अर्जुनधारा–५ घर भई हाल कतारमा रहँदै आएका सन्तोष गिरी, अर्घाखाँची मलारानी गाउँपालिका–५ घर भई हाल कतारमा रहेका सोनुकुमार कुँवर क्षेत्रीको सक्रियतामा संकलित रकम परिवारलाई हस्तान्तरण गरिएको पत्रकार उद्धव पुरीले जनाएका छन् ।
हजुरआमा शारदा खत्री र हजुरबुबा टंकबहादुर खत्रीसहित परिवारलाई संकलित रकम हस्तान्तरण गरिएको छ । बिरामी अनमोलकी आमा अस्मिता मानसिक रोगी छिन् । हाल बिरामीकी हजुरआमा शारदा, आमा अस्मिता, बुवा मिलनले काठमाडौंस्थित पाटन अस्पतालमा उपचार गराइरहेका छन् ।