
बिर्तामोड । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले वास्तवीक पहिचान दिने पार्टी नेकपा (एमाले) भएको बताएक छन् ।
आज झापाको बिर्तामोडमा आयोजित महासङ्घ झापाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले एमालेलाई बिरोधीहरुले पहिचान बिरोधी दलको रुपमा झुटो प्रचार गरिरहेको भन्दै त्यसको खण्डन गरे।
पूर्वमा सबैभन्दा बढी उठेको पहिचानको मुद्दाका विषयमा धारणा राख्दै शेर्पाले एमाले कहिले पनि पहिचान विरोधी नभएको जिकिर गरे। उनले आदिवासी जनजाति लगायत उपेक्षित वर्गको हितका लागि नेकपा (एमाले)ले नै नीति निर्माणमा अग्रणी भूमिका निर्वाह गरेको स्मरण गराए।
अहिले आएर केही विकास विरोधी तत्वहरूले जनतामाझ एमाले पहिचान विरोधी भएको भन्दैमा नेकपा एमाले कदापी पहिचानको विरोधी नहुने शेर्पाको भनाइ थियो । उनले एमालेले कहिले पनि पहिचान विरोधी र जनता विरोधी काम नगरेको र नगर्ने समेत जिकेर गरे।
संबिधानसभाका सदस्य समेत रहेका महासंघका केन्द्रीय अध्यक्ष शेर्पाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको आन्दोलनले नै नेपालमा आदिवासी जनजातिहरुका लागि आरक्षणको व्यवस्था शुनिश्चित गराएको स्मरण गराए। नेपालमा आदिवासी जनजाति, दलित र उत्पीडित वर्गको पहिचानका लागि एमाले जति योगदान अन्य दलले गर्न नसकेको टिप्पणी गरे।
उनले एमालेमाथि विभिन्न खाले आक्रमणहरु भइरहेको भन्दै अब पार्टीको रक्षाका निमित्त आदिवासी जनजाति महासंघ अग्रणी मोर्चामा आउनुपर्ने बताए। मुलुकका हितका लागि काम गरिरहेको राष्ट्रवादी दल नेकपा (एमाले)माथि विभिन्न आक्रमणहरू भइरहेको भन्दै पार्टीको रक्षाका लागि आदिवासी जनजाति महासंघ हमेशा तयार रहेको शेर्पाको भनाई थियो ।
उनले एमालेले हाल गरिरहेको र विगतमा गरेका कामहरू देखेर विरोधीहरू आत्तिएको धारणा राखे। २०८४ मा एकल बहुमत ल्याउने लक्ष्यकासाथ जनतामाझ गइरहेको एमालेलाई असफल बनाउन विरोधीहरूले विभिन्न आक्रमण गरेको उनको भनाइ थियो।
झापाका एमालेको मतले चुनाव जितेका राजेन्द्र लिङ्देनले अहिले सबैभन्दा बढी एमालेको विरोध गरिरहेको भन्दै शेर्पाले आम झापालीले लिङ्गदेनलाई पाठ सिकाउनुपर्ने धारणा राखे।
त्यस्तै उनले दुर्गा प्रसाईले समेत आदिवासी जनजातिकै प्रयोग गरेर एमालेको विरोध गरिरहेको भन्दै त्यस्ता अराजक व्यक्तिकोपछि नलाग्न आग्रह गरे।
आदिवासी जनजातिको बाक्लो बसोबास रहेको पूर्वमा मुलुक निर्माण र पहिचान रक्षाका निमित्त एमालेले गरेको योग्दानको चर्चा हुन नसकिरहेको धारणा राखे।
शेर्पाले नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको गृह जिल्ला झापा भएकाले पनि झापामा एमालेको धेरै नै विरोध हुने गरेको बताए। एमालेको भिजन र योग्दानलाई बुझ्न नसक्दा केहि अज्ञानी तत्वहरुले विरोध गर्ने गरेको उनको भनाई छ ।
उनले नेकपा (एमाले)लाई खुइल्याउन लागि परेका तत्वहरूको विरोध गर्न समेत महासंघमा आबद्ध नेता कार्यकर्ता तथा तमाम पार्टी पंक्तिलाई आग्रह गरे।
एमालेले गरेका जनतामुखी र राष्ट्रहितका कामहरूलाई आम जनतामाझ पुर्याएर पार्टीको पक्षमा बहस गर्नुपर्नेमा उनले जोड दिए। शेर्पाले न्यायप्रेमी आम नेपाली जनताको पार्टी नेकपा एमाले मात्रै भएको भन्दै एमालेको संगठन मजबुत बनाउन र नयाँ सदस्यहरुलाई समेत संगठनमा आबद्ध गराउन आग्रह गरेका थिए।
सम्बोधनका क्रममा शेर्पाले असोज मसान्तभित्र बाँकी रहेका सबै पालिकामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कमिटी विस्तार र वडा तहमा समेत कमिटी निर्माण गर्न निर्देशन दिए।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल जिल्ला कमिटी झापाका अध्यक्ष वीरेन्द्र राजवंशीको अध्यक्षतामा जिल्ला पार्टी कार्यालयको सभाहलमा भएको विस्तारित बैठक तथा प्रशिक्षणलाई महासङ्का केन्द्रीय महासचिव देवराज राई, उपमहासचिव प्रेमकुमार श्रेष्ठ, सचिव सोनाम लामा, सचिवालय सदस्य रोशनी मेचे, महासङ्घका कोशी प्रदेश कमिटीका सचिव नुहाङ राई, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य हरि राजवंशी र नेकपा एमाले झापाका अध्यक्ष तथा संविधानसभा सदस्य प्रेम गिरीले सम्बोधन गरेका थिए।