२०८२ जेठ २४, शनिवार , ०८:२५:४७ बजे

Sajhamanch
'

अफ्रिकन स्वाइन फिभरको पुष्टि, एकै फार्मका ८० बङ्गुर मरे

शुक्रवार, जेठ २३, २०८२

मेचीनगर । अफ्रिकन स्वाइन फिभरको आशंका गरिएको काँकरभिट्टाको एउटा बङ्गुर फार्मको बङ्गुरहरुको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।

मेचीनगर नगरपालिकाका पशु सेवा शाखा प्रमुख बिक्रम गुरुङले पशु सेवा विभागको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँले मेचीनगर–६, रमाइलो गाउँस्थित बबिता बंगुर फार्मका बङ्गुरहरुमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि गरेको जानकारी दिए ।

नगरपालिकाले जेठ ११ गते प्रारम्भिक नमूना संकलन गरी विराटनगरस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणको रिपोर्ट बिहीबार आएको हो ।

फार्मका ८० वटा बङ्गुर मरेका थिए । फार्मका सञ्चालक बविता गहतराजले गत वैशाख २७ गतेदेखि बङ्गुरहरू एकपछि अर्को गर्दै मर्न थालेको बताइन् । उनले जेठ ११ गते सम्ममा ८० वटा बङ्गुर मरेको जानकारी दिइन् ।

उनले गोठका सबै बङ्गुर मरेकाले क्षतिपूर्ती दिन माग पनि गरेकी छन् । बीमा नविकरण नगरे पनि बङ्गुर फार्मको दर्ता भने सबै कार्यालयमा गरेको उनले बताइन् ।

शुक्रबार नगरपालिकाको पशु सेवा शाखा प्रमुख गुरुङसहितको प्राविधिक टोलीले बङ्गुर फार्म र आसपासका क्षेत्रका बङ्गुर पालन कृषकहरुलाई सचेतना, फिनेल र भीरकन औषधिहरु दिएका थिए ।

‘अफ्रिकन स्वाइन फिभर मान्छेमा सर्ने रोग होइन’ गुरुङले भने– ‘बङ्गुरबाट सुङ्गुर र बदेलमा सर्न सक्छ । अन्य प्रजातिका पशुहरुमा पनि सर्दैन ।’

सम्बन्धित खबर