
बाह्रदशी । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (कर्णाली साकोस)ले सेवा केन्द्रगत सदस्य विस्तारित भेलालाई निरन्तरता दिइरहेको छ ।
संस्थाले कार्यतालिका बनाएर बैशाख १० गतेदेखि सुरु गरेको कार्यक्रम जेठ २८ गतेसम्म सञ्चालन हुनेछ । सेवा केन्द्रस्तरमा सदस्यहरु विस्तारित भेला गरी संस्थाको वित्तीय झलक प्रस्तुत गर्दै आफ्ना पुराना सदस्यहरुलाई सम्मान गरिरहेको हो ।
संस्थामा १५ वर्षदेखि सदस्य रहेका, ५ हजार रुपैयाँभन्दा धेरै सेयर रकम कायम रहेका तथा गुणस्तरीय वित्तीय कारोबार गरिरहेका सदस्यहरुलाई यस्तो सम्मान प्रदान गर्ने नीति बनाइएको संस्थाका अध्यक्ष टसबहादुर प्रधान बताउँछन् । संस्थामा यस्ता सदस्यहरुको संख्या १ हजार ३०० भन्दा बढी नै रहेको जनाइएको छ ।
संस्थाले उनीहरुलाई परिचय पत्र पनि प्रदान गर्दै मायाको चिनोसहित सम्मान गरिरहेको हो । सोही शिलशिलामा राजगढ सेवा केन्द्रगत सदस्य विस्तारित भेला बिहीबार सम्पन्न भएको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा संयोजक तथा संस्थाका सचिव भुपाल बस्नेतको अध्यक्षतामा भेला सम्पन्न गरिएको हो ।
बाह्रदशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष टंक साहाको प्रमुख आतिथ्यमा आयोजित उक्त सदस्य विस्तारित भेलाको औचित्य माथि कार्यक्रमका अध्यक्ष बस्नेतले प्रकाश पारेका थिए ।
सो कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष साहाले कर्णाली सहकारीको सदस्यमुखी सेवा र स्वास्थय प्रति चिन्तित भई खडा गरेको विशेष उपचार कोषमा आबद्ध हुन वडाबासी सबैलाई आग्रह गरेका थिए ।
सदस्य विस्तारित भेलामा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले कर्णाली साकोसको गत बैशाख मसान्तको वित्तीय विवरण प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सुविधाहरूका बारेमा प्रकाश पारेका थिए ।
संस्था सञ्चालक समितिका सचिव तथा कार्यक्रमका अध्यक्ष बस्नेतले संस्थाको सेवा सुविधा र सदस्य विस्तारित भेला कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
सो कार्यक्रममा २८० जना सदस्यहरुलाई उत्कृष्ट सदस्य परिचय पत्र र मायाको चिन्होसहित सम्मान गरिएको आईटी विभाग प्रमुख विपुल गौतमले जानकारी दिए ।