
झापा । अन्तर्राष्ट्रिय समुदायले इजरायलको आलोचनाको भन्दै प्यालेस्टिनी नेताहरुले त्यसको स्वागत गरेका छन् ।
प्यालेस्टिनी प्राधिकरणका नेता महमूद अब्बासले बेलायत, फ्रान्स र क्यानडाले इजरायलको आलोचना गर्दै निकालेका संयुक्त वक्तव्यको स्वागत गरेका हुन् ।
इजरायलले गरिरहेको नरसंहार, यसले निम्त्याइरहेको विनाश र गाजामा भोकमरीको अवस्थाको सामना गर्दै अब चुप लागेर बस्नु सम्भव नरहेको उनको भनाइ छ ।
इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेको र त्यहाँ फसेका मानिसहरूका लागि राहत सामग्री पुर्याउन रोक लगाइरहेको बीबीसीले जनाएको छ ।
यस सम्बन्धमा संयुक्त राष्ट्रसङ्घ र अरु विभिन्न युरोपियन देशहरुले इजरायलको कडा आलोचना गर्दै गाजामा भइरहेको आक्रमण तत्काल बन्द गर्न माग गरेका छन् ।
गएको आइतवार, इजरायलले गाजामा केही प्रतिबन्धहरू खुकुलो पारेको दाबी गरेको थियो तर अझै पनि त्यहाँ फसेका प्यालेस्टिनीहरूसम्म खाना लगायत पर्याप्त राहत सामग्री पुग्न सकेको छैन ।
यसैबीच, वेस्ट बैंकको भ्रमण गरेको बेलायतकी विकास राज्यमन्त्री जेनी च्यापम्यानले इजरायलले गाजासँगको युद्धमा भोकमरीलाई हतियारको रूपमा प्रयोग गरिरहेको बताएका छन् । यसले ठूलै मानवीय सङ्कट उत्पन्न गराउने उनको भनाइ छ ।