
काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग संवाद गरिएको छ ।
प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगत देखिको बानीकै कारण करुणा जन्मिएको बताइन् ।
‘म धेरै पहिले देखि नै आफूले देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने गर्थें’ शाक्यले भनिन्, ‘ती टिपोटहरुलाई एकै ठाउँमा कम्पायल गर्दा करुणा जन्मिएको हो । यसमा मेरा अनुभुतिहरु समेटिएका छन् ।’
शाक्यले आफूमा आम महिलामा हुने स्वभाव नभएको भन्दै गफ गरेर समय बिताउनुभन्दा कुनै सिर्जनात्मक काम गरौं भन्ने उद्देश्यले यो कृति तयार गरेको प्रष्ट पारिन् ।
उनले फूर्सद हुनासाथ केही न केही लेख्ने वा पढ्ने सानैदेखिको बानीका कारण किताब लेख्नतिर मन गएको उनको भनाई छ ।
‘आजै बिहान पनि खाना बनाउँदै गर्दा लि क्वान युको किताबका केही पाना पढिरहेकी थिएँ’ शाक्यले थपिन्, ‘जीवनमा साथीजस्तै हो पढ्ने लेख्ने कुरा मेरा लागि ।’
आफूले पुस्तक लेखेको र प्रकाशन गरेको कसैलाई कुनै सन्देश दिन वा फाइदाका लागि नभइ केवल आफ्ना अनुभूतिको दस्तावेजीकरणका लागि मात्र भएको शाक्यले बताइन् ।
पुस्तक संवादका क्रममा सम्पादकहरुले शाक्यलाई तपाईं राजनीतिमा आउन लागेको हो कि भनेर प्रश्न गरेका थिए । शाक्यले सबैलाई ढुक्क हुन आग्रह गर्दै भनिन्, ‘म राजनीतिमा आउँदिन ।तपाईंहरु ढुक्क हुनुहोस । मेरो उमेर छँँदा त पूर्णकालिन राजनीतिमा आइन भने अब त त्यस्तो सोचाई नै छैन ।’
आफूले राजनीति नगरे पनि राजनीति चाहिँ बुझ्ने उनले बताइन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न थुप्रै नेता कार्यकर्ता आउने गरेको तर उनीहरु किन आए भन्ने कुरामा आफूलाई चासो नभएको उनले सुनाइन् ।
‘उहाँलाई भेट्न धेरै नेता कार्यकर्ता आउँछन् । उनीहरु किन र के का लागि आउँछन् म कहिल्यै सोध्दिन । किनभने म राजनीति गर्दिन तर राजनीति चाहिँ बुझ्छु ’ शाक्यले प्रष्ट पारिन् ।
एक सम्पादकले शाक्यलाई सोधे ‘तपाईले श्रीमानलाई चार पटक प्रधानमन्त्री बनाउनुभयो, आफू नबन्ने ?’ शाक्यले आफूलाई प्रधानमन्त्री बन्न रुची नभएको स्पष्ट पारिन् । ‘म प्रधानमन्त्री बनेर देश बन्ने हैन । देश बनाउन धेरै गाह्रो छ । आफूसँग टिम चाहिन्छ । राजनीतिक अस्थिरताले देश निर्माणमा ठूलो अवरोध गरिरहेको छ’ शाक्यले भनेकी छन् ।
सरकार बनेकै दिन सञ्चार माध्यमहरुले ‘सरकार गयो गयो’ भनेर प्रचार गरिदिने गर्नाले प्रधानमन्त्री र मन्त्रीहरुलाई काम गर्न अफ्ठेरो परेको प्रधानमन्त्री पत्नी शाक्यको टिप्पणी छ । ‘यस प्रकारको अस्थिरता फैलाएपछि कर्मचारीले पनि काम टेर्न छोड्छन् अनि समस्या उत्पन्न हुन्छ’ शाक्यको भनाई छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता भएको कार्यक्रममा कवि एवं समालोचक प्राडा देवी नेपाल र वरिष्ठ पत्रकार, समीक्षक एवं लेखक बविता बस्नेतले करुणा माथि समीक्षा गरेका थिए ।
डा. नेपालले पुस्तक ध्वनी, ब्यञ्जना, रस आदि सबैको उचित संयोजन भएको बताए । उनले लेखकको हृदय र मस्तिकबाट ‘करुणा’ जन्मिएको पनि विश्लेषण गरे । पुस्तकमा उल्लेख भएको रोचक घटना,परिवेश र उदाहरणहरु पनि प्रस्तुत गर्दै डा. नेपालले आफ्नो समीक्षा प्रस्तुत गरेका थिए ।
अर्का समीक्षक बस्नेतले पुस्तक भनेको समयको चिनारी भएको बताउँदै ‘राधिका शाक्यले आफ्ना अनुभवको दस्तवेजीकरणबाट पुस्तक जन्माउनुभयो र पुस्तक प्रेमले पुस्तकालय खोल्नुभयो ।’ बस्नेतले सुझाव दिंदै भनिन् ‘पुस्तक पढ्दा लाग्छ यसको नाम करुणा नभएर कल्पवृक्षको सही हुन्थ्यो कि ।’