२०८२ वैशाख २३, मङ्गलवार , ०६:४६:२१ बजे

Sajhamanch
'

पाँच वर्षमा पाँचौपल्ट शल्यक्रिया, उपचार खर्चको अभावमा राजवंशी परिवारद्वारा सहयोगको याचना

मङ्गलवार, वैशाख २३, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ मा पर्ने शुक्रबारे बजारकी ४१ वर्षीय सुशिला राजवंशी उपचार खर्च अभावमा छटपटाई रहेकी छन् । विगत पाँचवर्ष यता पेटको पाँचौं पल्ट शल्यक्रिया गरिसकेकी राजवंशी अहिले उपचार खर्च अभावमा समस्यामा परेकी हुन् ।

पाँच वर्ष अगाडि पित्तथैलीमा समस्या भई विर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना भएकी थिइन् । विर्तासिटी अस्पतालले केही दिन उपचार गरी विराटनगर रेफर गरेको उनका श्रीमान विनोद राजवंशीले जानकारी दिए ।

उनका अनुसार सुशिलाको पाँच वर्षमा ५ ओटा अपरेशन गरिसकिएको छ । विराटनगरमा पित्त थैलीको अपरेस गरिएको थियो । त्यसपछि हर्निया र आन्द्रामा समस्या आई त्यसको पनि अपरेशन गरियो ।

बीचमा अपरेशन गरिएको स्थानमा इन्फेक्सन भएर डाक्टरले पुनः अपरेशन गरिदिएका थिए । गएको वर्ष पेटमा राखिएको जाली फुटेर फेरि अपरेशन गर्नु परेको श्रीमान विनोदले बताए ।

यसवर्ष पनि एपेन्डिक्सको अपरेसन गरिएको छ । उनले भने ‘यो अपरेशन पाँचौ पल्ट गरिएको हो । हाल इन्फेक्सन हुने डरले डाक्टरले जाली राखिदिएका छैनन् र घाउ पनि पूरा सिलाइएको छैन ।’

दिनहुँ ड्रेसिङ्ग गर्दै आएको र अपरेशन गरिएको घाउ थाकेपछि जाली राख्नको लागि फेरि अपरेशन गर्नुपर्ने डाक्टरले सुझाएको बिनोद बताउँछन् ।

उपचारका लागि १८ लाख रुपैयाँ खर्च भइसकेको र हालसम्म ऋण गरेर उपचार गरिएको बिनोदको भनाई छ । अब थप उपचार गर्न रकम नभए पछि सहयोगको अपेक्षा गरिएको सुसिलाकी सासू नयन राजवंशीले बताइन् ।

टाटीले बारेको सानो घर, भएको सम्पत्ती पनि उपचारमा मै सकियो । अब ऋण लिने ठाउँ पनि छैन । सासू नयन राजवंशीले बिलौना गर्दै भनिन् । विरामी सुसिलाले रुँदै आफूलाई बचाई दिन आग्रह गरेकी छन् ।

हाल सुशिलालाई विराटनरस्थित विराट टिचिङ अस्पतालमा उपचार गरिँदै आएको छ । विराटनगरमा आफन्तको घरमा बसेर दिनहुँ ड्रेसिङ्ग गर्नुपर्ने र उनका श्रीमानले बाहिर गएर कमाउन नपाउने भएर राजवंशी परिवार झन् आर्थिक संकटमा पुगेको समाजसेवी दुर्गा नेम्वाङ्गले बताए ।

राजवंशी परिवारको अवस्था धेरै जानुक भयो । परिवारको एउटा सदस्य लामो समय विरामी हुँदा भएको सम्पत्ती पनि सकियो । समाजसेवी नेम्वाङ्गले भने, उहाँलाई सबैले सहयोग गरेर उहाँका सन्तानहरुलाई टुहुरा हुनबाट बचाउन हामी सबैमा आग्रह गर्दछु । सुशिलाको एक छोरा एक छोरी छन् ।

सम्बन्धित खबर