२०८२ वैशाख २१, आइतवार , १०:४६:०६ बजे

Sajhamanch
'

कमलमा आमाहरुका लागि लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना

शनिवार, वैशाख २०, २०८२

कमल । झापाको कमल गाउँपालिकामा आमाहरुका लागि लागूऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सुरु भएको छ । कमल गाउँपालिका ३ नम्वर वडा कार्यालयको आर्थिक सहयोग र नवजागरण महिला समाजको आयोजनामा कार्यक्रम गरिएको हो ।

कमल ३ स्थित संस्थाको सभाहलमा आजबाट सुरु भएको सचेतना कार्यक्रम गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरिदिएका थिए ।

सो अवसरमा मन्तब्य राख्दै पालिका अध्यक्ष राइले पछिल्लो समय लागूऔषधको प्रयोगकर्ता निकै बढिरहेको र यसले समाजमा ठूलो विकृति निम्त्याउँदै गरे पनि यसलाई निर्मुल पार्न निकै चुनौती रहेको बताए ।

यसलाई निर्मुल पार्न त सकिँदैन तर सबैको साथ र सहयोग भएमा अवश्य पनि लागूऔषधको प्रयोगलाई न्यूनीकरण गर्न सकिने पालिका अध्यक्ष राइको भनाई थियो ।

कमल ३ का वडा अध्यक्ष अग्निप्रसाद कोइरालाले लागूऔषध प्रयोगकर्ता न्यूनीकरण गर्न हरेक आमाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले आमाहरुलाई लक्षित गरेर यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा समावेशी महिला शसक्तिकरण केन्द्रका अध्यक्ष पूर्णिमा देवान, प्रहरी चौकी केर्खाका प्रहरी सहायक निरीक्षक असई हिराबहादुर श्रेष्ठ, शान्ति संगम टोल विकास संस्थाका अध्यक्ष ज्ञानसिंह राई लगाएतको सहभागिता थियो

५ दिनसम्म सञ्चालन हुने सचेतना कार्यक्रममा ३ नम्बर वडाका २५ जना आमाहरु सहभागी छन् । सचेतना कार्यक्रममा सहभागी आमाहरुलाई मनोसामाजिक परामर्शकर्ता गोविन्दराज कट्टेलले सहजीकरण गर्ने जनाइएको छ ।

नवजागरण महिला समाजका अध्यक्ष बिष्णुमाया बेघाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव रिता खतिवडाले गरेकी थिइन् । संस्थाका सहसचिव सिता खड्काले शाब्दिक स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर