
झापा । मेचीनगर नगरपालिका–१३ स्थित पूर्व–पश्चिम राजमार्गमा आज अपराह्न भएको सवारी दुर्घटनामा परेर अर्जुनधारा नगरपालिका वडा नं १० निवासी ६८ वर्षीय टंकप्रसाद बरालको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–१३ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलमा यात्रारत बराललाई पछाडिबाट आएको ट्रकले ठक्क्र दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना. ३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको मे. ८ प ६४९८ नम्बरको मोटरसाइकललाई प्रगति सामुदायिक वन नजिक ठक्कर दिँदा बराल गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बीएन्डसी अस्पताल, बिर्तामोड लगिएको थियो । तर अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
ट्रक चालक पाँचथर फिदिम नगरपालिका–११ का ३८ वर्षीय ठालुप्रसाद एक्तेन लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रण लिई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
शनिश्चरे गाविसका पूर्वउपाध्यक्षसमेत रहेका बराल नेकपा एमालेका विभागीय सदस्य, सुखानी शहीद स्मृति प्रतिष्ठानका उपाध्यक्ष लगायत जिम्मेवारीका थिए । सामाजिक सेवाका क्षेत्रमा अग्रणी बराल मृदुभाषी हुनाका साथै शनिश्चरे क्षेत्रकै हस्ती मानिन्थे ।