
काठमाण्डौ । नेपाल चिकित्सक सङ्घले आज सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ ।सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी नहुने घोषणा गरेको हो ।
आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकोले आन्दोलन गर्नुपरेको सङ्घको भनाइ छ ।निजी कलेज सञ्चालकहरुले निर्वाह भत्ता नदिएको भन्दै पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।चिकित्सकहरुले आफूहरुको श्रम शोषण भएको भन्दै हिजो पनि प्रदर्शन गरेका थिए । चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तहको भत्ता दिनुपर्ने उनीहरुको माग छ ।