
झापा । अर्जुनधारा नगरपालिका वडा नं. ५ घर भएका ओमप्रकाश लुइँटेललाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
तीनकुने क्षेत्रमा चैत १५ गते राजावादीले गरेको आगजनी र तोडफोडको घटनामा संलग्न रहेको आरोपमा लुईंटेल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार ४८ वर्षीय लुइँटेललाई निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद लिई अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित खुल्ला चौरमा राजावादीहरूले १५ चैतमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएको थियो ।
सो क्रममा दुईजनाको ज्यान गएको थियो भने थुप्रै निजी तथा सरकारी सवारीसाधन, व्यक्तिका घर, विभिन्न पार्टीका कार्यालय र सञ्चार माध्यमहरूमा आगजनी तथा तोडफोड गरिएको थियो । यस्तै, व्यापारिक केन्द्रमा लुटपाट भएको थियो ।
लुईंटेल विगत केही वर्षदेखि सहकारी र लघुवित्तको ऋण तिर्न पर्दैन भन्ने दुर्गा प्रसाईंको अभियानमा संलग्न छन् ।