
बिर्तामोड । नेकपा एमालेले राष्ट्रब्यापीरुपमा सञ्चालन गरिरहेको ‘वडा केन्द्रित जरा अभियान’को सिलसिलामा राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड वडा नं. ९ मा वडा अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीका अध्यक्ष चिरन्जीवी अधिकारीको अध्यक्षतामा नेकपा एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागका सदस्य एवम् प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्लेको प्रमुख आतिथ्यमा बुधबार सो कार्यक्रम गरिएको हो ।
गरामनीस्थित नेकपा एमाले ८ र ९ नं. वडाको संयुक्त पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले सुनिल राजवंशीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा रेखा महतो, सचिव बिवश बस्नेत, सहसचिव पारस शर्मा र स्नेहा राजवंशी चयन भएका छन् ।
अधिवेशन उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्लेले राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेको एउटा महत्वपूर्ण संगठन भएको बताए । युवा संघमा आवद्ध भएर नयाँ पुस्तालाई राजनीतिमा अघि बढ्ने र आफ्नो क्षमता देखाउने अवसर पनि पाइने भएकाले युवालाई संगठित हुन आग्रह गरेका थिए ।
‘युवा भनेका कुमालेले भाँडा बनाउन राखेको लिस्याइलो माटोजस्तै हुन्, जसलाई गमला, गाग्री, खुत्रुके वा जुन आकारमा ढाल्न पनि सकिन्छ’ प्रमुख अतिथि काफ्लेले भने, ‘यही समयमा यिनीहरुलाई खेलकुद लगायत रचनात्मक विधामा प्रवेश गराएर सुमार्गमा लैजान सकिन्छ । युवा संघले यसतर्फ पनि ध्यान दिनेछ ।’
आफ्नो मातृ पार्टीले यतिबेला देशब्यापीरुपमा ‘वडा केन्द्रित जरा अभियान’ सञ्चालन गरिरहेकोले पार्टीलाई बोटविरुवा सम्झेर यसको आधारस्तम्भ मानिएको जरालाई बलियो, मलिलो र रसिलो बनाउन वडास्तरकै पार्टी कार्यकर्ताहरु माझ छलफल गरिरहेको काफ्लेको भनाई थियो ।
उनले पार्टीको ‘जरा अभियान’ लाई प्राथमिकतामा राख्दै संगठनलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
उद्घाटन कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले बिर्तामोड नगर कमिटीका उपाध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल बिर्तामोडका पूर्व अध्यक्ष तथा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीले आफूलाई युवा संघको उत्पादनका रुपमा चिनाएका थिए ।
‘युवा संघ मेरा प्यारो संगठन, म युवा संघको नगर कमिटी अध्यक्ष बनिसकेकोले क्षमता भएका युवाले पक्कै अवसर पाउँछन् भन्नेमा विश्वास गर्नुपर्छ’ बुढाथोकीले सहभागी युवालाई हौस्याएका थिए ।
आजका युवा गलत काममा नलागुन्, सही ट्रयाक् मा युवा हिंडेमा पक्कै देश बन्नेछ भन्दै वडाध्यक्ष बुढाथोकीले कक्षा १२ पास गर्न पाएको छैन विदेशको सपना देख्छ भने त्यो सरासर गलत हुने प्रष्ट पारे ।
आफ्नो मन्तब्यमा पार्टीका नगर उपाध्यक्ष बुढाथोकीले भने, ‘तपाईँ सचेत युवा हो, हामी एकअर्काको परिपुक हुनुपर्छ। सामाजिक सञ्जाल प्रयोग गदा ध्यान दिनुस्, कुलतमा फस्न नपाउन खेलकुदमा ध्यान दिनुस् ।’
विकास भनेको आजको भोलि हुन सम्भव छैन, क्रमशः हुँदै जाने हो भन्ने धारणा राख्दै वढाध्यक्ष बुढाथोकीले युवा संघका कमिटीहरुले हरेक ३ महिनामा एउटा रचनात्मक कायक्रम गरेमा पक्कै सफल हुनेछन् भन्ने सुझाव दिए ।
नेकपा एमाले विर्तामोड ९ का सचिव कृष्णप्रसाद उप्रेतीले सञ्चालन गरेको सो अधिवेशन उद्घाटन सत्रमा राष्ट्रिय युवा संघका नगर कमिटी अध्यक्ष रोहित ओलीले शाब्दिक स्वागत गरेका थिए ।
उनले वडा केन्द्रित जरा अभियान अन्तरत नै ९ नं. वडाको राष्ट्रिय युवा संघ नेपालको कमिटी पुनःगठन गर्न लागिएको जनाउँदै युवाको भूमिका समाज रुपान्तरणसंगै सहयोग आदान प्रदानतर्फ लक्षित होस् भन्ने सुझाव दिएका थिए । आजका युवालाई सही मार्गमा डोहोर्याउने मोर्चा भनेको युवा संघ नेपाल नै भएको उनको धारणा थियो ।
अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य तथा वडा नं. ९ इन्चार्ज लक्ष्मी मोते, बिर्तामोड नगर कमिटीका सदस्यहरू बालकृष्ण कार्की, युवराज निरौला, विष्णुमाया कोइराला, संगीता सिवा, शान्ति मर्डी, विश्वदीप राजवंशी, धनश्याम नेपाल, हरि बाँस्कोटा, नवीन बिमली लगायत नेताहरूको सहभागिता थियो।
सो कार्यक्रममा नेकपा (एमाले) बिर्तामोड वडा नं. ३ का अध्यक्ष कोशिस घिमिरे, बिर्तामोड ९ का अध्यक्ष प्रेम भण्डारी, नगर कमिटी सचिवालय सदस्य बद्री प्याकुरेल, राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर सचिव दिनेश अधिकारीको आतिथ्यता थियो ।