
भद्रपुर । मैथिल समाज झापाले हिन्दूहरुको उल्लासित पर्व होलीको पूर्वसन्ध्यामा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर–६ स्थित आफ्नै नवनिर्मित भवनमा समाजले मंगलबार साँझ होली मिलन कार्यक्रम आयोजना गरेको हो ।
समाजका अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल रहेका थिए ।
सो कार्यक्रममा शुभकामना व्यक्त गर्दै नगरप्रमुख पोखरेलले होली पर्वले समाजमा भाइचारा एवम् सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै संयमित भई सभ्य ढंगबाट होली मनाउन नगरबासीलाई आग्रह गरे ।
कार्यक्रममा पूर्व नगरप्रमुख एवम् मैथिल समाजका अगुवा भारतेन्द्कुमार मल्लिक, भद्रपुर नगरपालिका वडा नं ६ का अध्यक्ष रतिया राजवंशी, वडा नं. ५ का वडा सदस्य जेष्ठमल ठाकुर, डा. पिताम्बर ठाकुर लगायतले मन्तव्य राखेका थिए । होली मिलन कार्यक्रममा एक–अर्काप्रति रंग दलेर शुभकामना आदान–प्रदान गरिएको थियो ।
सोही अवसरमा समाजले मैथिल समुदायबाट गतवर्ष एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने अनुज कर्ण र सृष्टी शाहलाई सम्मान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि नगरप्रमुख पोखरेलले सम्मानपत्र प्रदान गरेका थिए ।
विगतमा मोहपाल धर्मशालामा कार्यक्रम आयोजना गर्दै आएको समाजले यसवर्ष आफ्नै भवनमा समारोह आयोजना गरेको हो । भद्रपुर नगरपालिका र समुदायबाट सहयोग संकलन गरी समाजको स्वामित्वमा रहेको ११ धुर जग्गामा करिब ३१ लाख रुपैयाँ लागतमा भवन निर्माण भएको अध्यक्ष झाले जानकारी दिए ।
समाजका सचिव सुशील कर्णको सञ्चालन र निवर्तमान अध्यक्ष बलदेव शाहले स्वागत गरेको सो कार्यक्रमका अध्यक्ष झाले गेटलगायत निर्माणको काम बाँकी नै रहेकोले अझै ७–८ लाख रुपैयाँ आवश्यक रहेको बताए । अध्यक्ष झाले त्यसका लागि वडा, नगरपालिका र समाजका अग्रजहरुसँग सहयोग मागिएको पनि बताए ।