
मेचीनगर । मेचीनगर नगरपालिकाले कृषकहरुको मागलाई मध्यनजर गरेर ‘पशु पालन प्रोत्साहन’ लगायतका कार्यक्रमहरु ल्याएको छ ।
मेचीनगर नगरपालिकाको पशु शाखा प्रमुख बिक्रम गुरुङका अनुसार कृषकहरुको माग अनुसार ‘पशुपालन प्रोत्साहन कार्यक्रम’ लगायतका कार्यक्रमहरु ल्याएको हो ।
‘पशुपालन प्रोत्साहन कार्यक्रम’ अन्तरगत कृषकहरुलाई पशुपालन सम्बन्धी के कुराको आवश्यकता छ, सोही अनुसार नगरपालिकाले व्यवस्था गरिदिने उनको भनाई छ ।
कृषकलाई अत्यावश्यक पर्ने कुटी काट्ने मेसिन, काउँमेट, बीमा लगायतमा ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने नगरपालिकाको नीति छ ।
‘पशुपालन प्रोत्साहन कार्यक्रम’ का लागि हालसम्म १३१ जना कृषकले शाखामा निवेदन दर्ता गरेको गुरुङले जानकारी दिए ।
आवश्यक सामग्री माग गरे बमोजिमको निवेदन अनुसार अनुगमन र मूल्याङ्कन गरेपछि कृषकलाई छनोट गरेर ‘पशुपालन प्रोत्साहन कार्यक्रम’ मा समावेश गरिने शाखाको भनाई छ ।
विगतमा अनुदानमा कृषकले लापरबाही गरेपछि यस वर्षदेखि कानुन अनुसार अनुगमन र मूल्याङ्कनमा वडाध्यक्ष, शाखाका प्राविधिक, वडाका प्राविधिक, आर्थिक विकास समिति संयोजक वा प्रतिनिधि लगायतको समितिले निर्णय गर्ने छ ।
नगरपालिकाले १५ वटै वडामा उक्त कार्यक्रममा चालु आर्थिक वर्ष २०८१/०८२ का लागि २५ लाख रुपैयाँ बजेट छुट्टाएको छ ।
यसैगरी पशु शाखाले पशुपालन कृषकलाई हिउँदे सिजनको घाँसको विउ ५० प्रतिशत अनुदानमा वितरण गरिसकेको छ ।
पशु प्राविधिक छत्रबहादुर राईका अनुसार २१७ जना कृषकलाई २ हजार २६० केजी जै घाँसको विउँ वितरण गरिएको छ । अब चाँडै बर्खे जै घाँसको विउ पनि वितरण गरिने तयारीमा रहेको उनको भनाई छ ।
नश्ल सुधार कार्यक्रम :
चालु आर्थिक वर्षमा पशु शाखाबाट विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको छ । जसमा नश्ल सुधार कार्यक्रम अन्तरगत नश्लको विउबाट कृतिम गर्भाधान गरी दूध उत्पादनमा सुधार ल्याउन २ हजार ४५६ वटा गाई र १८१ वटा भैंसीमा कृतिम गर्भाधान सेवा पुर्याएको छ ।
यस्तै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरसँगको सहकार्यमा पशुमा लाग्ने माहामारीजन्य रोग नियन्त्रणका लागि पीपीआर, एफएमडी, स्वाइन फिवर लगायतका रोग विरुद्धको १६ हजार डोज खोप लगाइएको छ ।
आन्तरिक र बाह्य परिजीवी नियन्त्रण, पशु स्वास्थ्य व्यवस्थापनका लागि औषधि खरिद तथा वितरण कार्यक्रम अन्तरगत ९५० जना पशुपालक कृषकहरुलाई फाइदा पुगेको शाखाले जनाएको छ ।
कुकुर र विरालोलाई रेविज विरुद्धको खोप :
यसैगरी, शाखाबाट १५ वटै वडामा ३६६ वटा कुकुर र विरालोलाई रेविज विरुद्धको खोप सामुदायिक तथा घर पालुवा कुकुर र विरालोहरुलाई निःशुल्क लगाइएको छ ।
बोकालाई बन्ध्याकरण :
यसैगरी शाखाबाट २६० वटा बोकालाई निःशुल्क बन्ध्याकरण गरी कृषकलाई सेवा दिइएको छ । शाखाको ल्याव मार्फत आन्तरिक परजीवीको पहिचानका लागि ४२१ वटा गाई र भैंसी तथा बाख्राहरुमा गोवर परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको बताइएको छ ।
३८९ कृषकको फर्म दर्ता :
शाखाका पशु प्राविधिक राईले व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्ने ३८९ कृषकहरुको फर्म दर्ता गरिएको बताए ।
यी र अन्य सबै पशुपालन सम्बन्धी कार्यक्रमका लागि यसवर्ष ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।