२०८२ वैशाख १८, बिहिवार , १२:००:०६ बजे

Sajhamanch
'

राष्ट्रिय निकुञ्जमा ‘नियन्त्रित’ डढेलो

शनिवार, फागुन २४, २०८१

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालएिको छ। विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो।निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाइन्छ। निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित डढेलो लगाउने गर्छन्। ‘घाँसेमैदानमा भएका जलनशील पदार्थमा नियन्त्रित रूपमा डढेलो लगाउँदा सहज हुने र पछि अनियन्त्रित डढेलोको समस्या हुँदैन’, उनले भने।

निकुञ्जमा रहेको १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदानमध्ये अहिले ३०० हेक्टर क्षेत्रफल घाँसेमैदान व्यवस्थापन गरिएको छ। बजेट अभावका कारण सबै क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गर्न नसकिएको उनले बताए। नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने घाँस गर्छ। घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने हुँदा जनावरलाई चरनका लागि सहज हुने उनले बताए। थापाका अनुसार नियन्त्रित डढेलोले जनावरमा क्षति हुँदैन। ‘नियन्त्रित डढेलो लगाउँदा वन्यजन्तुमा क्षति हुन पाउँदैन’, उनले भने।

यो किसिमको डढेलो पछि उम्रने कलिला घाँसका कारण वन्यजन्तु बस्ती पस्न रोकिने बताइन्छ। चर्को गर्मीसँगै डढेलो फैलने भएकाले यो मौसममा नियन्त्रित डढेलो लगाउने गरिन्छ। यो निकुञ्जमा दुलर्भ वन्यजन्तु गैँडा, बाघ, हात्ती, चित्तललगायतका वन्यजन्तु रहेका छन्। यहाँ विश्वभरबाट पर्यटक जङ्गल सफारीका लागि आउँछन्। नियन्त्रित डढेलोले निकुञ्जभित्रको बाटोबाट टाढा(टाढासम्म वन्यजन्तु देख्न सकिन्छ।

डढेलो पछिको मौसममा पर्यटकले सहजै वन्यजन्तु देखिने भएकाले सफारीका लागि रूचाउँछन्। अनियन्त्रितरूपमा हुने डढेलो निकुञ्जले नियन्त्रण गर्ने गर्दछ। निकुञ्जमा हुने सीमित स्रोत साधनका कारण सोचे जति नियन्त्रण गर्न कठिन हुने मगरले बताए। चर्को गर्मीसँगै निकुञ्जभित्र अनियन्त्रित डढेलो लाग्ने गर्दछ। यसले वन र वन्यजन्तुलाई क्षति पुर्‍याउँछ। क्षति कम गर्नका लागि नियन्त्रित डढेलो लगाइन्छ।

सम्बन्धित खबर