
काठमाडौं । फिफाले महिला फुटवलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ।सन् २०२८ बाट सुरु हुने प्रतियोगिता हरेक चार वर्षमा हुनेछ।
नियमनकारी निकायले महिला च्याम्पियन्स कप पनि लन्च गर्नेछ। २०२६ बाट सुरु हुने यो प्रतियोगिता महिला फुटवलको पहिलो ग्लोबल प्रतिस्पर्धा हुनेछ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको सुरुवातसँगै महिला फुटवल नयाँ उचाइमा पुग्ने बताए।
हरेक वर्ष आयोजना गरिने च्याम्पियन्स कपमा ६ टिम सहभागी हुनेछन्। क्लब विश्वकप भएको वर्ष भने च्याम्पियन्स कप हुनेछैन।यसअघि २०२६ बाट नै सुरु गरिने योजना बनाइएको क्लब विश्वकपमा ६ महादेशका १६ टिम सहभागी हुनेछन्। पाँच युरोपसहित १३ क्लब सिधै छनौट हुनेछन् भने बाँकी स्थानका लागि प्ले अफ हुनेछ।
यस्तै फिफाले यो वर्षको पुरुष क्लब विश्वकपको पुरस्कार राशी एक विलियन डलर हुने बताएको छ। १४ जुनदेखि १३ जुलाइसम्म अमेरिकामा हुने प्रतियोगितामा ३२ टिमले भाग लिनेछन्। रेभिन्युबाट दुई विलियन प्राप्त हुने विश्वास फिफाको छ।
रेभिन्युबाट प्राप्त भएको सबै रकम क्लब फुटवलको विकासमा खर्चिने फिफाको भनाइ छ। अध्यक्ष इन्फान्टिनोले फिफाले एक डलर पनि नराख्ने बताएका हुन्।