
पोखरा । तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए ।
सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी कार्य गरेका थिए । भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा मृत भेटिएका हुन् ।राति परिवारसहित सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए ।उनी बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू कहाँ छु भन्ने थाहा नभएको बताएलगत्तै मोबाइल अफ भएको थियो ।उनको शव खोला किनारमा भेटिएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण केसीको टोली पुगेको थियो ।सुवेदीको शव पोस्टमार्टमका लागि दमौली जिल्ला अस्पताल तनहुँमा राखिएको छ र बिहीबार नै उनको शव देवघाट पुर्याएर अन्तेष्टि गरिने परिवारले जनाएका छन् ।
उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ ।महेश हाल कावासोती नगरपालिका वडानम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतवन्धमा धरमपानी पुगेका थिए ।
महेश, ठूली छोरी र आफू कावासोती बस्दै आएका थिए भने सानी छोरी र श्रीमती लमजुङ बस्दै आएका छन् । महेशकी श्रीमती स्वास्थ्यकर्मी हुन् ।