२०८१ फागुन २१, बुधवार , ०८:१६:२७ बजे

Sajhamanch
'

झापाका माझी समुदायले लदी पूजा पर्यटकीय क्षेत्र दोमुखामा मनाए

बुधवार, फागुन २१, २०८१

शिवसताक्षी । प्रकृति पुजक माझी समुदायले परम्परागत रुपमा मनाउँदै आएको लदी पूजा यसवर्ष झापाको पर्यकीय क्षेत्र दोमुखामा धुमधामका साथ मनाएका छन् ।

नेपाल माझी उत्थान संघ जिल्ला समिति झापाको आयोजनामा दोमुखास्थित कनकाई नदीको तटमा पानीलाई तान्त्रिक विधिद्वारा पूजा गर्दै सामुहिक रुपमा लदी पूजा मनाएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले लदी पूजा माझी समुदायको मात्र नभई यो सबै जात जातिको रहेको बताए ।

नेपालीहरुको मौलिक पर्वहरु सबै जाति समुदायहरुले मनाउन थालेको बताउँदै नगरप्रमुख थोप्राले नेपालीको मौलिक पर्वलाई विश्व सामु चिनाउनु पर्ने बताए । समाजमा सानो रुपमा रहेको समुदायहरुलाई माथि उठाउन सबै लाग्नु पर्ने उनको भनाई थियो ।

यो पूजामा प्रत्येक वर्ष फागुनको तेस्रो मंगलबारका दिन नदीमा भेला भएर जलदेवीको पूजा गरिने नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमितिका अंगध्वज माझीले बताए।

उनले पुजामा पाँचवटा ढुङ्गाको देवी स्थापना गरी केराको पातमाथि अक्षता, सिक्का, लड्डु, फलफूल र लिङ्गमा रङ्गहरु दलेर दियोसहित जलदेवीलाई पूजा गरिने जानकारी दिए ।

माझी समुदायमा पशुको बलि गरेर पनि पूजा गर्ने परम्परा छ। आर्थिक क्षमता बलियो भएकाले राँगा, भैसी, सुँगुर र कुखुरा बलि दिन्छन् भने केहीले शुद्ध फलफूलबाट पूजा गर्ने गरेको उनले बताए।

माझी समुदायले पुर्ख्यौली पेशाको रुपमा रहेको ढुंगा चलाउने कामलाई स्मरण गर्दै कार्यक्रममा ढुंगासमेत प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा माझी समुदायको भेषभुषा, नदीमा जाल हान्ने लगायत पुर्ख्यौली पेशाहरुलाई पनि समावेश गरिएको थियो । यता झापाको शिवसताक्षी नगरपालिकाले लदी पूजाको अवसरमा शिवसताक्षीमा स्थानीय विदा दिएको थियो ।

सम्बन्धित खबर