मेचीनगर । पहाडका नागरिकहरु थातथलो छाडेर तराईका शहरहरुमा झर्न थालेपछि मेचीनगर नगरपालिकामा पनि घर नक्सा पास गर्नेको भिड बढ्न थालेको छ ।
चालु आर्थिक वर्ष २०८१ पुस मसान्त सम्ममा मेचीनगरमा करिव १०० वटा घर नक्सा पासको निवेदन दर्ता भएका छन् ।
नगरपालिकाका घर नक्सा शाखा प्रमुख सञ्जयकुमार ढुंगानाले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १५ वटा वडा कार्यालय मार्फत ९९ वटा नक्सा पासको निवेदन दर्ता भएको जानकारी दिएका हुन् ।
उनका अनुसार यसअघिका सहित १३२ वटा घर नक्सा पासको निर्माण सम्पन्न भइसकेको छ । ४३ वटा अस्थायी र ४२ वटा स्थायी स्वीकृति पनि दिइएको उनले बताए ।
नगरपालिकाको राजश्व शाखाका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ पुस मसान्तसम्ममा घर नक्सा पासबाट ३३ लाख ७६ हजार ७९१ रुपैयाँ ४१ पैसा राजश्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ९५ लाख ८६ हजार ९७२ रुपैयाँ राजश्व उठेको थियो ।
७ धुर भन्दा माथिको जमिनमा बनेको घरको मात्र नक्सा पास गरिँदै
शाखा प्रमुख ढुंगानाका अनुसार नगरपालिकाको २०७४ पुस २७ गतेको निर्णय अनुसार ७ धुर जग्गाभन्दा माथिमा बनेको घरको मात्रै घर नक्सा पास हुने मापदण्ड तय गरिएको छ । त्योभन्दा तलको जग्गाको घर नक्सा पास नहुने भन्ने सम्बन्धित निकायहरुलाई परिपत्र छ ।
तर, मालपोत कार्यालय झापाले जति धुर जग्गाको पनि कित्ताकाट गरिरहेकोले स्थानीय तहको निर्णय कार्यान्वयनलाई वेवास्ता गरेको उनको बुझाई छ ।